काठमाडौं । सरकारले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक हेलिकोप्टर उद्धारको माग नगर्न आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गते गएको विनाशकारी रसुवा बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न क्षेत्र प्रभावित भएको जनाउँदै यस्तो आग्रह गरेको हो।
प्राधिकरणका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट विदेशी २५२ जना र नेपाली ३ हजार ३४४ जनाको हवाई उद्धार भइसकेको छ। तर न्यून मात्र प्रभावित भएका, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकोप्टरमार्फत उद्धारको माग भइरहेको प्राधिकरणले जनाएको छ।
आपत्कालीन अवस्थामा खोज तथा उद्धारसँगै राहत सामग्री ढुवानीका लागि सीमित हेलिकोप्टर स्रोतलाई अत्यावश्यक काममा प्रयोग गर्नुपर्ने भएकाले तत्काल हवाई उद्धार आवश्यक नभएकाहरूलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणका अनुसार धादिङबेसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेण्ट) बाट पृथ्वी राजमार्ग जोडिने वैकल्पिक सडक सञ्चालनमा आएको छ।
त्यस्तै, रसुवा जोड्ने विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्क–बोगटीटार हुँदै कालिकास्थान–धुन्चे जाने सडक पनि ४ चक्के साना सवारी साधन सञ्चालन हुने गरी सुचारु भएको प्राधिकरणले जनाएको छ।
बाढीबाट रसुवाको उत्तरगया, गोसाइँकुण्ड, आमाछोदिङ्मो र कालिका गाउँपालिका, नुवाकोटको तारकेश्वर, किस्पाङ, विदुर र बेलकोटगढी, धादिङको गल्छी, गजुरी, बेनीघाट रोराङ तथा सिद्धलेक गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट तथा आँबुखैरेनी गाउँपालिका बढी प्रभावित भएका छन्।
प्राधिकरणले विपद्को विषम परिस्थितिमा उपलब्ध सीमित स्रोत–साधनलाई अत्यावश्यक खोज, उद्धार तथा राहत कार्यमा केन्द्रित गर्न सहयोग गर्न सबैसँग आग्रह गरेको छ।









