काठमाडौं: रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएको छ । नेपालमाथि आइपरेको विनाशकारी विपत्तिमा संसारभरबाट सहयोगी हातहरू सक्रिय भएका छन् ।
यसैक्रममा उत्तरी छिमेकी चीनले उद्धार तथा राहत कार्यमा प्राविधिकसहितको टोली परिचालन गरेको छ। चीन र भारतका प्राविधिक उद्धार टोली प्रभावित क्षेत्रमा खटिएका छन्।

यसैबीच, आइतबार बिहान राहत सामग्री बोकेको चिनियाँ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विपत्तिपछि नेपाललाई आवश्यक पर्ने राहत तथा उद्धार सामग्री उपलब्ध गराउन चीनले सहयोग अघि बढाएको हो।
नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा सडक तथा पुलहरूमा ठूलो क्षति पुगेपछि तत्काल यातायात सम्पर्क पुन:स्थापित गर्न चीन र भारतसँग बेलीब्रिज निर्माणका लागि सहयोग मागिएको छ। नेपाल सरकारले दुवै छिमेकीसँग गरी ४२ वटा बेलीब्रिज निर्माणका लागि आग्रह गरेको छ।
चीन सरकारले तत्काल ३० वटा बेलीब्रिज उपलब्ध गराउने तथा शव व्यवस्थापनका लागि २ हजार एयरटाइट ब्याग उपलब्ध गराउने घोषणा गरेको बताइएको छ।
यसअघि नै चीनले प्रभावित क्षेत्रमा उद्धार तथा प्राविधिक जनशक्ति परिचालन गरिसकेको छ। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ प्राविधिक टोली परिचालन भएको छ।








