काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले चीनतर्फबाट रसुवा हुँदै आएको विनाशकारी बाढीका कारण प्रभावित जिल्लाका क्रसर तथा खानी उद्योगमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेको छ।
महासंघले शनिबार अपिल जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा बाढीका कारण ठूलो जनधन तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरेको हो।
महासंघका अध्यक्ष सिताराम न्यौपानेद्वारा जारी अपिलमा बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
महासंघका अनुसार बाढीका कारण प्रभावित जिल्लामा रहेका क्रसर तथा खानी उद्योग, बालुवा प्रशोधन उद्योग, उद्योगका संरचना, स्काभेटर, लोडर, टिपरलगायत मेसिनरी तथा उपकरणमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। विद्युत् लाइन तथा अन्य पूर्वाधारमा भएको क्षतिले उद्योग व्यवसाय सञ्चालनमा समेत गम्भीर असर परेको महासंघले जनाएको छ।
महासंघले प्रभावित जिल्लाका क्रसर तथा खानी उद्योग व्यवसायीलाई आफ्ना उद्योग तथा व्यवसायमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र महासंघमा उपलब्ध गराउन आग्रह गरेको छ।
विपद्को समयमा सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत अभियानमा महासंघ, आबद्ध उद्योगी–व्यवसायी तथा निजी क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
बाढीबाट क्षतिग्रस्त उद्योग तथा भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारसँग आवश्यक सहकार्य गर्न महासंघ तयार रहेको अध्यक्ष न्यौपानेले बताएका छन्।
महासंघले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न उद्योगी, व्यवसायी तथा आम नागरिकलाई अपिलसमेत गरेको छ।









