काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा अवरुद्ध दूरसञ्चार सेवा पुनः सञ्चालनलाई तीव्रता दिएको छ ।
टेलिकमले भदौ ११ गते हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ स्थित सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याएको जनाएको छ । त्यसपछि भदौ १२ गते बिहानैदेखि प्राविधिक टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरी बाँकी रहेका स्थानमा मोबाइल सेवा सञ्चालन तथा सञ्चालनमा आएका टावरलाई थप भरपर्दो बनाउने काम भइरहेको छ ।
रसुवामा बाढीका कारण बन्द भएको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोल्जुङ टावर (बाहुनडाँडा) पुनः सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । उक्त टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५, गोसाईंकुण्ड गाउँपालिका–३ र ५ तथा स्याफ्रुबेँसी–टिमुरे राजमार्गका केही क्षेत्रमा मोबाइल सेवा सुचारु भएको छ ।
त्यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको छ ।
टेलिकमका अनुसार विदुर नगरपालिका–८ स्थित तुप्चे टावर र गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरे माथिको डाँडामा रहेको टेलिकम टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी पुर्याएर सेवा सुचारु गर्ने काम भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रमा भदौ १० गतेदेखि नै नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरू रसुवाको न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेसनमा निरन्तर खटिएका छन् । उनीहरूले प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालनमा ल्याउन तथा सेवा निरन्तरता दिन आवश्यक प्राविधिक काम गरिरहेका छन् ।
टेलिकमका अनुसार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित कुल १२० साइटमध्ये हालसम्म ८० साइटमा सेवा पुनः सञ्चालन भइसकेको छ ।
विपद्को समयमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमले जनाएको छ । सेवा पुनः सञ्चालनबाट प्रभावित नागरिकलाई आफन्तजनसँग सम्पर्क कायम गर्न तथा विपद्का बेला आवश्यक सूचना आदानप्रदान गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।









