काठमाडाैँ । सरकारले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उपलब्ध सबै आन्तरिक स्रोत–साधनको अधिकतम परिचालन गरिरहेको जनाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विपद्बाट प्रभावित नागरिकको उद्धारलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार सक्रिय रहेको बताउनुभयो ।
मन्त्री पोखरेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का टोली उद्धार कार्यमा पूर्ण रूपमा परिचालित छन् । सरकारले पहिलो प्राथमिकता नागरिकको ज्यान जोगाउने रहेको भन्दै उपलब्ध जनशक्ति र स्रोतको अधिकतम प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले स्वयंसेवकहरूको परिचालनलाई समेत व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।
विपद्का समयमा आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोगका लागि परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । राहत सामग्री ल्याउने विषयमा समेत सम्बन्धित मुलुकसँग छलफल भइरहेको र आवश्यकता परेको अवस्थामा परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक सहयोग परिचालन गरिने उहाँको भनाइ छ ।
सरकारले विपद्का बेला फैलिन सक्ने गलत सूचना तथा अफवाहबाट जोगिन नागरिकलाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबपेज तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने सूचनालाई मात्र विश्वास गर्न मन्त्री पोखरेलले आग्रह गर्नुभयो ।
यसैगरी, राहत तथा सहयोग रकम संकलनका लागि सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष’ सक्रिय बनाएको छ । देश तथा विदेशमा रहेका इच्छुक व्यक्ति तथा संस्थालाई आधिकारिक माध्यम र क्यूआर कोड पहिचान गरेर मात्र कोषमा रकम जम्मा गर्न सरकारले आग्रह गरेको छ ।
मन्त्री पोखरेलका अनुसार राहत कोषको अवस्था तथा हालसम्म संकलित रकमबारे अर्थ मन्त्रालयले छिट्टै थप विवरण सार्वजनिक गर्नेछ ।







