११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा



अ+ अ-

ललितपुर। नेपाल-चीन सीमा क्षेत्र रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका तीन वटा स्थानीय तहले रु एक करोड ८० लाख नगद राहत सहयोग गर्ने घोषणा गरेका हुन् ।

ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले आज कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले दिनुभएको जानकारीअनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि महानगरका तर्फबाट रु एक करोड रकम प्रधानमन्त्री राहत कोषमा सहयोगस्वरुप जम्मा गर्ने निर्णय गरिएको छ । साथै, यस घटनाबाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार अन्य प्राविधिक तथा मानवीय सहयोग उपलब्ध गराउन महानगरा तत्पर रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, गोदावरी नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले बाढी पीडितका लागि रु ५० लाख आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको हो । प्रमुख गजेन्द्र महर्जनको अध्यक्षताका आज बसेको कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायतास्वरूप उक्त रकम राहात तथा उद्धार कोषमा रु ५० लाख हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

यसैगरी, महालक्ष्मी नगरप्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतमा आज बसेको कार्यपालिका बैठकले विपद् पीडितको उद्धार र सहायताका लागि जनप्रतिनिधिहरूको एक महिनाको भत्ता तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको सात दिनको तलब कटौती गरी बाँकी नपुग रकम नगरपालिकाको कोषबाट व्यहोर्ने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । नगरप्रमुख श्रेष्ठले छिमेकी जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपद्मा मानवीय सहयोग पुर्‍याउनु नगरपालिकाको दायित्व भएको बताउनुभयो ।

“रसुवागढी र आसपासका क्षेत्रमा बाढीले पुर्याएको अभूतपूर्व क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ, यस कठिन घडीमा पीडित परिवारको मलमपट्टिका लागि महालक्ष्मी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू हातेमालो गर्दै ऐक्यबद्धता जनाउन उभिएका हौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

चीनतर्फ हिमचट्टान पहिरोका कारण लेन्दे खोला र भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवनलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बैठकमा नगरउपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गानासहित कार्यपालिका सदस्यको उपस्थिति थियो । महालक्ष्मी नगरपालिकाले नगरपालिकाको एम्बुलेन्स तथा नगर प्रहरीसहितको टोलीलाई विपद् क्षेत्रमा विपद्का कारण घाइते भएका व्यक्तिहरूको उद्धार तथा आवश्यक सहयोगका लागि परिचालन गरेको छ ।

घाइतेहरूको शीघ्र उद्धार गरी आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्‍याउने कार्यमा टोली सक्रिय रहेको उपप्रमुख महर्जनले जानकारी दिनुभयो ।  रासस