काठमाडौं । यही भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बेपत्ता तथा प्रभावितमध्ये नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेको सेनाले जनाएको छ। विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने अन्य उद्धार गरिएकालाई धुन्चे ल्याउने तयारी भइरहेको छ।
यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको पनि जीवितै उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। अन्य तीनवटा टनेलमा फसेकाको उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
त्यस्तै, टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरिएको छ। उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने क्रम जारी रहेको नेपाली सेनाले जनाएको छ।
बाढीका कारण रसुवाको टिमुरे, हाकु लगायतका क्षेत्रमा ठूलो क्षति भएपछि नेपाली सेना लगायतका सुरक्षा निकायले हवाई तथा स्थलमार्गबाट उद्धार कार्यलाई तीव्रता दिएका छन्।








