काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीबाट ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको दुःखद खबर प्राप्त भएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको उनले बताए। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएकामध्ये घाइतेलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
घाइतेको निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा उपत्यकाका अन्य ठूला अस्पताललाई समेत घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा मेडिकल टोली खटाएर उद्धार तथा प्राथमिक उपचारको काम भइरहेको उनले जानकारी दिएका छन्।
त्यस्तै, रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटलगायत संस्थासँग समन्वय गरी औषधि, रगत तथा आपत्कालीन स्वास्थ्य सामग्रीको अभाव हुन नदिने व्यवस्था मिलाइएको प्रधानमन्त्री शाहको भनाइ छ।
उनका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित क्षेत्र हुन्। ती क्षेत्रमा पीडित परिवारसम्म खानेकुरा, सफा खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्याइने उनले बताएका छन्।
प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजी कार्यलाई थप तीव्र पारिने, घाइतेको पूर्ण विवरण तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिने र रातभर पनि उद्धार कार्य जारी रहने बताएका छन्।
बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको प्राथमिकताका साथ पुनर्निर्माण गरिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनले बताएका छन्।
प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई आफूहरू एक्लो नरहेको विश्वास दिलाउँदै राज्य सम्पूर्ण साधनस्रोतसहित उनीहरूको साथमा रहेको बताएका छन्। साथै, सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्।









