काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिक युएई जाँदा लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया सरल बनाउँदै श्रमिकलाई सहज हुने व्यवस्था गर्न राजदूत शामसीसँग आग्रह गरेका छन्।
जवाफमा राजदूत शामसीले उक्त विषयमा युएई सरकारसँग निरन्तर छलफल तथा समन्वय भइरहेको जानकारी दिँदै आवश्यक पहल जारी राख्ने आश्वासन दिए।
भेटमा नेपाल र युएईबीच भएका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूह (Joint Working Group) को बैठक शीघ्र आयोजना गर्ने विषयमा समेत सहमति भएको छ।









