उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को १ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अटोमा सवार बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र नाम, उमेर तथा ठेगाना नखुलेकी अर्की एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा अस्पतालमा उपचारका क्रममा बिहान ११ः४५ बजे मृत्यु घोषणा गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ मैनीका २८ वर्षीय इन्द्र थापा मगर र सोही स्थानका १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । यस्तै, मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ मध्यम घाइते भएका छन् ।
घाइतेहरूलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरी स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा अस्पताल पठाएको थियो ।
दुर्घटनापछि अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ भने बस र चालक बेलका नगरपालिका–५ घुम्नेका करिब ३६ वर्षीय विक्रम थापालाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









