काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट शनिबार साँझ हराएकी दुई वर्षीया बालिका रातभरको खोजतलासपछि आइतबार बिहान सकुशल फेला परेकी छन्।
कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे आफ्नै घर अगाडिबाट हराएकी थिइन्।
बालिका हराएको जानकारी उनका हजुरबुवा मदन मण्डलले राति करिब ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा गराएपछि प्रहरीले तत्काल खोजतलास सुरु गरेको थियो।
बालिकाको खोजीका लागि प्रहरीले रातभर विभिन्न समूहमा टोली परिचालन गरेको थियो। खोजी कार्यलाई प्रभावकारी बनाउन कुकुरसहितको प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६ सिस्वास्थित बाटोमा बालिकालाई सकुशल फेला पारिएको हो।
फेला परेकी बालिकालाई आवश्यक प्रक्रिया पूरा गरी आइतबार बिहान ११ बजे उनका बुबा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।











