ललितपुर। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि ऋणीहरूले गर्दै आएको धर्ना स्थगित गरिएको हो।
सहमति कार्यान्वयनको प्रक्रियासँगै सरकारले आज बिहान ८ः५० बजेदेखि साझा यातायातका बसको व्यवस्था गरी धर्नामा सहभागी ऋणीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको हो।
विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमार्फत बिदाइ गरिएको थियो।
झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको जनाइएको छ।
सरकारसँग भएको १४ बुँदे सहमतिपछि लामो समयदेखि पुल्चोकमा जारी धर्ना कार्यक्रम स्थगित भएको हो।











