दाङ। लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न भएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले रोल्पामा मनसुनजन्य विपद्बाट जनधनको ठूलो क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद् प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभयो । उहाँले प्रदेश सरकारले गर्नुपर्ने काममा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
रोल्पामा विपद् भएपछि तत्काल खोज तथा उद्धारमा सक्रियताका साथ काम गरिएको भन्दै मुख्यमन्त्री आचार्यले सुरक्षा निकायका साथै जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, समाजिक अभियानकर्तालगायत सबैलाई धन्यवाद दिनुभयो ।
उहाँले मनसुन अझै नसकिएकाले भदौको अन्तिमसम्म ठूलो वर्षा हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सबै सरकारी निकायलाई पूर्वतयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र प्रतिकार्य योजना प्रभावकारी बनाउन पनि उहाँले निर्देशन दिनुभयो ।
रोल्पामा यस वर्षको मनसुनजन्य विपद्का घटनाबाट, थवाङ गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । सुनछहरी गाउँपालिकामा छ जनाको मृत्यु भएको छ । लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक-एक जनाको मृत्यु भएको तथ्याङक प्राप्त भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार चार स्थानीय तहका ११ परिवार विपद्बाट विस्थापित भएका छन् ।
यसैबीच, आजको बैठकले रोल्पामा सडक र पुल मर्मतका लागि रु ५० लाख रकम निकासा गर्ने निर्णय गरेको छ । रोल्पाको थबाङ गाउँपालिका-५ स्थित उवा खोलामाथिको पुलको एकातर्फी विङवाल (पुलको दुवै छेउमा बनाइने पर्खाल) बाढीले बगाएको, सडकमा ठूलो खाल्डो परेर सडक आवागमन अवरुद्ध भएकाले पुल र सडकको तत्काल मर्मत तथा संरक्षणका लागि रु ५० लाख निकासा गर्ने निर्णय भएको मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सुलिचौर-थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले तत्काल मर्मत तथा सुरक्षा आवश्यक रहेकाले सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत उक्त रकम खर्च गरिनेछ ।
बैठकले सुस्तापश्चिमको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान रोक्न तथा बाढीको जोखिम न्यूनीकरणका लागि रु २५ लाख निकासा गर्ने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नवलपरासी-९ बर्दघाट (सुस्तापश्चिम) मार्फत उक्त रकम खर्च गरिनेछ ।
आज प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत विवरणअनुसार लुम्बिनी प्रदेशमा गत जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना भएका छन् । ती घटनामा ८५ को मृत्यु, १३ घाइते र दुई जना बेपत्ता भएका मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी पानीमा डुबेर ५८ जनाको मृत्यु भएको छ भने पहिरोमा परेर २०, बाढीका कारण चार र चट्याङमा परेर तीन जनाको मृत्यु भएको छ । रासस











