४ भाद्र २०८३, बिहीबार
,
Latest
बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता क्रमशः घट्दै गएकाले अब विकासका लागि निजी तथा वैकल्पिक पुँजी परिचालन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा अर्थमन्त्री वाग्लेले अनुदान तथा सहुलियतपूर्ण ऋणका स्रोतहरू साँघुरिँदै गएको बताउनुभयो । उहाँले नेपालले पहिलो बजेटदेखि नै राजस्वले नपुग्ने खर्च वैदेशिक सहायता तथा ऋणमार्फत पूर्ति गर्दै आए पनि अर्थतन्त्र र बजेटको आकार बढेसँगै वैदेशिक अनुदानको हिस्सा तुलनात्मक रूपमा घट्दै गएको बताउनुभयो ।

अर्थमन्त्रीका अनुसार चालु आर्थिक वर्षको बजेटमा करिब २ खर्ब १२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखिएको छ भने वैदेशिक अनुदान करिब ६२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यद्यपि पछिल्ला वर्षमा बजेटमा ४८ देखि ५२ अर्ब रुपैयाँसम्म वैदेशिक अनुदान अनुमान गरिए पनि वास्तविक प्राप्ति भने १० देखि १५ अर्ब रुपैयाँको हाराहारीमा सीमित हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले वैदेशिक सहायतालाई गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, द्विपक्षीय अनुदान र बहुपक्षीय सहुलियतपूर्ण ऋणका रूपमा छुट्टाछुट्टै विश्लेषण गर्नुपर्ने बताउनुभयो । आईएनजीओमार्फत आउने सहायता पनि घट्दै गएको र नेपालको बजेट तथा अर्थतन्त्रको आकारको तुलनामा त्यसको हिस्सा निकै सानो भइसकेको उहाँको भनाइ छ ।

द्विपक्षीय अनुदानका रूपमा भारत, चीन, बेलायत, जापान र अमेरिकालगायत मुलुकबाट सहायता प्राप्त हुँदै आएको जानकारी दिँदै उहाँले यस्तो सहायता मुख्यतः विकास परियोजनाका लागि आउने बताउनुभयो । त्यस्तै, बहुपक्षीय विकास साझेदारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण नेपालको विकासका लागि महत्वपूर्ण स्रोत रहेको उहाँले उल्लेख गर्नुभयो ।

एशियाली विकास बैंक र विश्व बैंकबाट प्राप्त हुने ऋणमा लामो अवधि, न्यून ब्याजदर तथा ग्रेस पिरियडको सुविधा रहे पनि यस्ता सहुलियतपूर्ण स्रोत क्रमशः साँघुरिँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“४० वर्षसम्म १ प्रतिशत, १.५ प्रतिशतको ब्याजमा पाइने र पहिलो आठ वर्षसम्म तिर्न नपर्ने हाइली कन्सेशनल ऋणको झ्याल बन्द हुँदैछ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “ग्रान्ट सुकिरहेको छ । ब्याजदर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, म्याचुरिटी पिरियड घट्दैछ र सीमित स्रोतमा प्रतिस्पर्धा पनि बढ्दैछ ।”

नेपालले विगतमा प्राप्त सहुलियतपूर्ण स्रोतको प्रभावकारी उपयोग गर्न नसकेको पनि उहाँले स्वीकार गर्नुभयो । उपलब्ध सहायता हुँदाहुँदै पनि कमजोर खर्च क्षमता, खरिद प्रक्रिया तथा अन्य कारणले पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसकेको उहाँको भनाइ छ ।

नेपालका उल्लेखनीय पूर्वाधारमध्ये धेरैजसो सहुलियतपूर्ण वैदेशिक ऋणबाट निर्माण भएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले अब परम्परागत वैदेशिक सहायता स्रोत खुम्चिँदै गएकाले विकासका लागि निजी पुँजीतर्फ जानुपर्ने बताउनुभयो ।

सरकारले निजी तथा वैकल्पिक पुँजी परिचालनका लागि हाइब्रिड एन्युटी मोडल, अफसोर बन्ड, डायस्पोरा लगानी तथा वैकल्पिक विकास वित्तसम्बन्धी व्यवस्थालाई अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

एशियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) मार्फत अन्तर्राष्ट्रिय बजारबाट पुँजी ल्याएर नेपाली बैंकमार्फत निजी क्षेत्रलाई कर्जा उपलब्ध गराउने बाटोसमेत खोलिएको उहाँले बताउनुभयो ।

गैरआवासीय नेपालीको लगानी सहज बनाउन विद्यमान कानुनी तथा नियामकीय अवरोध हटाइएको र वैकल्पिक विकास वित्तसम्बन्धी कानुन संसद्बाट पारित भइसकेको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो ।

कतिपय अन्तर्राष्ट्रिय साझेदारले समेत विकास सहायता कटौती गरिरहेकाले आगामी दिनमा नेपालका लागि विकास वित्त जुटाउनु थप चुनौतीपूर्ण हुने उहाँको भनाइ छ ।