४ भाद्र २०८३, बिहीबार
,
Latest
बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै



अ+ अ-

काठमाडाैँ । तनहुँ व्यास नगरपालिका–१० मा निर्माण गरिएको नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ। पुरिएको ताल उत्खनन गरी पुनःनिर्माण गरिएको तालमा बाँध तथा अन्य संरचना निर्माण सम्पन्न भएसँगै पानी भर्न थालिएको हो।

करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको तालमा २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिने जनाइएको छ। ताल व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको हो।

निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले तालमा पानी जम्मा हुन थालेपछि यसको आकर्षण बढेको र आन्तरिक पर्यटकसमेत आउन थालेको बताउनुभयो। तालमा आउने पर्यटकले सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा फोटो र भिडियो पोस्ट गर्न थालेपछि यसको प्रचारप्रसारसमेत बढिरहेको उहाँले बताउनुभयो।

नारेश्वर ताललाई कृषि, पर्यटन, वातावरण संरक्षण र स्थानीय रोजगारीसँग जोडिएको बहुउद्देश्यीय आयोजनाका रूपमा विकास गर्ने लक्ष्य रहेको दरैले बताउनुभयो।

“तालमा पानी जम्मा हुन थालेसँगै आयोजनाको महत्वपूर्ण चरण पूरा भएको छ। अब यसको उपयोगलाई कसरी बढीभन्दा बढी प्रभावकारी बनाउने भन्ने विषयमा ध्यान दिनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “सिँचाइसँगै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि बढाउने गरी तालको विकास गर्ने योजना छ।”

ताल निर्माणको प्रमुख उद्देश्य स्थानीय कृषि क्षेत्रलाई आवश्यक सिँचाइ सुविधा उपलब्ध गराउनु पनि हो। तालसँगै सिँचाइ ट्याङ्की निर्माण गरिएको छ। तालमा जम्मा भएको पानी तानेर आसपासका कृषि क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइने व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोख्रेलले बताउनुभयो।

यसबाट दुम्सीचौर आसपासका किसानलाई सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ। वर्षाको पानीमा निर्भर भएर खेती गर्नुपर्ने अवस्थालाई कम गर्दै नियमित सिँचाइ सुविधा उपलब्ध गराउन सके कृषि उत्पादन बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नारेश्वर ताललाई आगामी दिनमा नगरपालिकाको नयाँ आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो।

तालमा पानी भरिएपछि यसको प्राकृतिक सौन्दर्य थप बढ्ने भएकाले जलविहार, वनभोजस्थललगायत पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो। ताल आसपास आवश्यक संरचना निर्माण गरी स्थानीय तथा बाह्य पर्यटक आकर्षित गर्ने नगरपालिकाको लक्ष्य छ।

ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके आसपास होटल, रेष्टुरेन्ट, स्थानीय उत्पादन बिक्री तथा अन्य सेवामूलक व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ।

“नारेश्वर ताललाई घुम्न आउने ठाउँ मात्र होइन, स्थानीयको आयआर्जनसँग जोडिने गन्तव्यका रूपमा विकास गर्नुपर्छ। ताल वरपर आवश्यक पूर्वाधार विकाससँगै स्थानीय उत्पादन र व्यवसायलाई पनि जोड्ने योजना बनाउनुपर्छ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो।

नारेश्वर ताल व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा निर्माण भएको हो। आयोजनाको अनुमानित लागत करिब रु चार करोड रहेको छ।

नगरपालिकाले ताललाई केवल कृत्रिम जलाशयका रूपमा नभई कृषि, पर्यटन, वातावरणीय संरक्षण र रोजगारी सिर्जनालाई जोड्ने आधारका रूपमा लिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो।

अब तालको नियमित संरक्षण, पानीको उचित व्यवस्थापन, सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन तथा पर्यटकीय पूर्वाधार निर्माणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।