२ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’



अ+ अ-

काठमाडौँ।  नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको गण्डकी क्षेत्रमा व्याप्त रहेको पर्यटनको प्रचुर सम्भावनाको उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका-१२ मा अवस्थित बलेवा कालभैरवमा आयोजित ‘हरेलो मेला’को आज उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशमा प्राकृतिक मात्र नभएर धार्मिक, सांस्कृतिक पर्यटनको पनि अधिक सम्भावना रहेकाले यसको उजागर गर्न स्थानीय आफैँ लाग्नुपर्नेमा जोड दिनुभयो ।

निवर्तमान अध्यक्ष ढकालले भन्नभुयो, “मुक्तिनाथमा हाल भारतीय पर्यटकको आगमन बढ्दै गएको छ । मुक्तिनाथ पुग्ने नेपालकै आन्तरिक पर्यटक पनि दिनप्रतिदिन बढ्दैछन् । बागलुङ बजार मुक्तिनाथ र रारा ताल जाने नेपालीकै ‘ट्रान्जिट’ जस्तै बनेको छ । ती पर्यटकलाई बागलुङ बजार तथा पर्यटकीय बलेवा भैरवस्थानसम्म पुग्ने र बास बस्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ भनेर योजना बनाउनुपर्दछ ।”

पूर्वअध्यक्ष ढकालले नेपाल आउने करिब ५० प्रतिशत पर्यटक पोखरा आउने भएकाले तिनलाई बागलुङसम्म ल्याउने र एक–दुई दिन बसाइँ लम्ब्याउने योजनामा लाग्न जिल्लाका पर्यटन व्यवसायीसँग आग्रह पनि गर्नुभयो । नेपालका उत्तर र दक्षिणी छिमेकीसँग जोडिएको गण्डकी प्रदेशले ती छिमेकीको कम्तीमा पनि तीन अर्ब जनसङ्ख्याबाट फाइदा लिनसक्नुपर्ने उहाँको भनाइ छ ।

उनीहरूलाई नेपाल भित्र्याउने प्रभावकारी पर्यटन नीति र योजनाका साथ अघि बढ्न सकिएमा गण्डकी क्षेत्र मात्र नभएर नेपालको समग्र पश्चिम क्षेत्रकै भविष्य उज्ज्वल बन्ने उहाँले बताउनुभयो । अध्यक्ष ढकालले हरेलो उत्सव नेपालको पश्चिम क्षेत्रकै एक मौलिक सांस्कृतिक परम्परा रहेकाले यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

बागलुङमा वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न प्रशस्त उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने प्रचलन  छ । घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो । यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ ।

खेतमा धूपसहित पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ । यो मौलिक परम्पराको संरक्षण र सम्वर्द्धन होस् भन्ने उद्देश्यले बागलुङ नगरपालिका र बलेवा कालभैरव मन्दिर समितिको पहलमा केही वर्षदेखि हरेलो मेलाको आयोजना गरिँदै आइएको छ ।  रासस