२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी



अ+ अ-

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयले साउन महिनामा श्रम अधिकार संरक्षण, बालश्रम नियन्त्रण, श्रम विवाद समाधान तथा आर्थिक भुक्तानी व्यवस्थापनमा सक्रियता देखाएका छन्।

विभागको साउन महिनाको सुशासन कार्यसम्पादन सूचकाङ्क तथा प्रगति विवरणअनुसार श्रमिकको अधिकार र पारिश्रमिक भुक्तानीलाई प्राथमिकता दिँदै मेलमिलाप तथा विभागको आदेश र निर्देशनमार्फत श्रमिकलाई १ करोड ४० लाख ५२ हजार ८ सय १५ रुपैयाँ पारिश्रमिक भुक्तानी गराइएको छ।

त्यस्तै, श्रमिकले दर्ता गराएका निवेदन तथा मुद्दाका आधारमा प्रतिष्ठान र श्रमिकबीच आपसी सहमतिबाट ७२ लाख ७१ हजार ९ सय २७ रुपैयाँ भुक्तानी गराइएको विभागले जनाएको छ। विभिन्न शीर्षकमा दण्ड, जरिवाना तथा क्षतिपूर्तिबापत ७१ लाख ३५ हजार ३ सय ७१ रुपैयाँ असुलउपर गर्ने निर्णयसमेत गरिएको छ।

बालश्रम उन्मूलनका लागि विभागले अनुगमनलाई समेत तीव्रता दिएको छ। साउनमा देशभर ३ सय ७१ वटा बालश्रमसम्बन्धी निरीक्षण गरिएको छ। बालश्रम गराएको पाइएपछि विभिन्न प्रतिष्ठान तथा व्यक्तिलाई २ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

श्रम ऐन तथा व्यवसायजन्य सुरक्षा मापदण्डको पालना भए–नभएको सुनिश्चित गर्न देशभर ३ सय ७१ वटा प्रतिष्ठान र १ सय ४२ वटा ब्वायलरको निरीक्षण गरिएको छ। यस अवधिमा २१ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको समेत निरीक्षण गरिएको विभागले जनाएको छ।

साउनमा श्रमिकका तर्फबाट ३ सय वटा व्यक्तिगत दाबी उजुरी र २६ वटा सामूहिक दाबी उजुरी दर्ता भएका थिए। तीमध्ये ८१ वटा श्रम विवाद आपसी समझदारी तथा कानुनी प्रक्रियामार्फत समाधान गरिएको छ।

यसै अवधिमा एउटा औद्योगिक दुर्घटना दर्ता भएको र दुर्घटनामा एक जना श्रमिकको मृत्यु भएको विभागले जनाएको छ।

विभागले सेवा प्रवाहलाई थप मर्यादित, पारदर्शी र जनमुखी बनाउन विभिन्न सुशासनका सूचकाङ्क लागू गरेको जनाएको छ। गुनासो व्यवस्थापनअन्तर्गत सेवाग्राहीलाई ‘पहिले आउनेलाई पहिले सेवा’को आधारमा छिटोछरितो सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, सेवाग्राहीसँग शिष्ट र मर्यादित व्यवहार गर्ने, कार्यालयमा राखिएका उजुरी पेटिकाको नियमित निरीक्षण गर्ने, मासिक रूपमा छलफल आयोजना गर्ने तथा गुनासो सुन्न प्रभावकारी जनसम्पर्क गर्ने कार्यलाई निरन्तरता दिइएको विभागले जनाएको छ।