सुनसरी, २ भदौः भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गर्नुभएको छ । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।
मण्डलले भन्नुभयो, “जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।”
यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थालेको छ । उहाँले वार्षिक १५ देखि २० क्विन्टलसम्म जुट उत्पादन गर्दै आउनु भएको छ । यसबाट रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । तयार भएको जुट बिक्रीका लागि बजारको समस्या नरहेको र स्थानीय व्यापारीले खेतमै पुगेर खरिद गर्ने गरेको उहाँको भनाइ छ ।
जुटको मूल्यमा वृद्धि हुनुका साथै उद्योगबाट माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण बढेको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा जुटखेतीको क्षेत्रफल पनि वृद्धि भएको छ ।
देवानगञ्ज गाउँपालिका–६ का रमेश यादव भने अरूको खेतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनु भएको छ । उहाँ बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म जुटको रेसा निकाल्ने काम गर्नुहुन्छ । दैनिक रु ६०० ज्याला पाउने गरेको उहाँले सुनाउनुभयो । “आफ्नो बारी छैन, अरूको ज्यालादारीमा काम गर्छु । यसले घरखर्च धान्न केही सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।
सोही ठाउँका किसान वीरेन्द्र मण्डलले १० कट्ठा क्षेत्रफलमा जुटखेती गर्नुभएको छ । अहिले जुट निकाल्ने काम तीव्र रूपमा भइरहेकाले उहाँले एक जना मजदुरलाई ज्यालामा काममा लगाउनु भएको छ । उहाँले भन्नुभयो, “एक कट्ठामा दुईदेखि तीन मनसम्म जुट उत्पादन हुन्छ । हाल प्रतिमन पाँच हजार पाँच सयसम्ममा जुट बिक्री भइरहेको छ ।” जुटको बीउ इटहरीस्थित जुट अनुसन्धान केन्द्र तथा भारतबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।
जुट अनुसन्धान केन्द्र इटहरीका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वी नेपालका अधिकांश किसानले केन्द्रबाटै बीउ तथा प्राविधिक सहयोग लिने गरेका छन् भने केही किसानले भारतबाट बीउ खरिद गर्ने गरेका छन ।
विगतमा नेपाली जुट उद्योगलाई आवश्यकपर्ने करिब ८५ प्रतिशत कच्चा जुट बङ्गलादेश र भारतबाट आयात हुने गरेको थियो । पछिल्लो समय स्थानीय उत्पादनमा बढोत्तरी भएपछि आयात कम हुन थालेको छ । सोही कारण यस वर्ष किसानले उल्लेख्य मात्रामा खेती गरेका छन् ।
किसानलाई जुटखेतीतर्फ आकर्षित गर्न अनुसन्धान केन्द्रले झारपात नियन्त्रण र रेसा निकाल्ने प्रविधिमा सहयोग गर्दै आएको छ । जुटखेतीमा झारपात प्रमुख समस्या भएकाले ‘सनराइज’ र ‘एजिल’ विषादी प्रयोग गरी नियन्त्रण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
जुट कुहाउने र धुने काममा अनुसन्धान केन्द्रले डिजेल तथा विद्युतबाट सञ्चालन हुने मेसिन प्रयोगमा ल्याएको छ । यी मेसिनबाट रेसा छुट्याउने र धुने काम सहज भए पनि मेसिन प्रयोग गर्दा जुटको डाँठ धुलो हुने भएकाले अधिकांश किसानले प्रयोग नगरेको उहाँले बताउनुभयो । “किसानले जुटको डाँठ दाउरा तथा बिक्री गरेर आम्दानीसमेत गर्ने भएकाले मेसिन प्रयोग गर्न अप्ठ्यारो मानेका छन्”, उहाँले भन्नुभयो ।
जुट अनुसन्धान केन्द्रलाई वार्षिक रु एक करोडभन्दा बढी बजेट विनियोजन हुँदै आएको छ । पछिल्लो समय कोशी प्रदेश सरकारले पनि जुटखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । थप सरकारी योजना र प्रोत्साहन उपलब्ध भएमा आगामी वर्षमा उत्पादन अझै वृद्धि हुने केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सुनसरी जिल्लामा एक हजार ३०८ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । आव २०८२÷८३ मा एक हजार ३३४ हेक्टरमा जुटखेती गरिएको छ ।
जुटको मूल्य वृद्धि र माग बढेकै कारण किसानको आकर्षण बढेको छ । जिल्लामा देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी, हरिनगर र इनरुवालगायत क्षेत्रमा बढी जुटखेती हुँदै आएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।रासस











