१ भाद्र २०८३, सोमबार
,
Latest
बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति विद्युतमा भ्याट लगाएर सरकारले जनतालाई सास्ती दिएको सीके राउतको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताउनुभएको छ।

संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै कोइरालाले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पार्दै दुवै पक्षलाई समेटेर काँग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

उहाँले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताउनुभयो। सभापति थापासँग यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि आफूले प्रयास गरेको उहाँको भनाइ थियो।

‘गगन कुमार थापा र शेरबहादुरजीको बीचको जुन दूरी छ, त्यसलाई घटाउन, दुईजनाको बीचमा संवाद हुन ताकि अगाडि बढोस् भनेर म प्रयत्न गर्नेछु,’ उहाँले भन्नुभयो।

कोइरालाले पछिल्लो समय काँग्रेसभित्र बढेको आरोप–प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाउँदै पार्टीको राजनीतिक संस्कार खस्किँदै गएको बताउनुभयो। विगतमा पार्टीभित्र विवाद भए पनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गर्दै उहाँले नेतृत्व तहबाटै संयम अपनाउनुपर्नेमा जोड दिनुभयो।

वरिष्ठ नेताहरूबीच नै गालीगलौज हुनु काँग्रेसका लागि सुहाउने विषय नभएको उहाँको भनाइ थियो। बीपी कोइरालाको समयको स्मरण गर्दै उहाँले त्यतिबेला पार्टीभित्र विवाद र मतभिन्नता भए पनि त्यसलाई बौद्धिक बहसका रूपमा अघि बढाउने गरिएको बताउनुभयो।

पार्टी एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ र अपेक्षा स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने कोइरालाले बताउनुभयो। पार्टीभित्रको विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उल्लेख गर्दै उहाँले दुवै पक्ष एकै ठाउँमा बसेर आफ्ना कुरा खुलस्त राख्नुपर्ने धारणा राख्नुभयो।

‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुपर्‍यो, दुवै पक्षले भन्न सक्नुपर्‍यो, हामीलाई के चाहिन्छ । चाहिने त त्यही पद हो, अरू के चाहिने ? हामी बीच लाइनमा छौँ, हामी मिलाएर जान्छौँ,’ उहाँले भन्नुभयो।

आफू कुनै पक्षमा नभई पार्टी मिलाउने प्रयासमा रहेको दाबी गर्दै कोइरालाले काँग्रेसभित्र अन्ततः सहमति हुने विश्वास व्यक्त गर्नुभयो। यद्यपि, कहिले र कसरी सहमति हुन्छ भन्ने विषय अहिले नै भन्न कठिन रहेको उहाँको भनाइ थियो।

पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके काँग्रेस थप शक्तिशाली बन्ने विश्वास व्यक्त गर्दै कोइरालाले सभापति गगन थापालाई पार्टीका वरिष्ठ नेताहरूलाई समेत समेटेर अघि बढ्न आग्रह गर्नुभयो।