काठमाडाैँ । म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण थालिएको छ । नेपाल नेत्रज्योति संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण सुरुआत गरेको हो ।
एक करोड तीन लाखको लागतमा तीन तले भवन निर्माण गर्न लागिएको संघका अध्यक्ष अमर बानियाँले जानकारी दिनुभयो । “संस्थाका पदाधिकारी र सदस्यहरुबाट जुटाएको १० लाख बजेटबाट जग खन्ने र कुनातर्फ पर्खाल बनाउन थालेका छौ,” उहाँले भन्नुभयो “थप पूर्वाधार बनाउन दाताहरुलाई सहयोगको अपिल गरेका छौ ।”
मालिका–६ दिच्यामका मुक्ति रोका र उहाँकी पत्नी याममायाले दुई करोड ५० लाख मूल्य बराबरको सात आना, एक पैसा, तीन दाम क्षेत्रफल भएको जग्गा उपलब्ध गराउनुभएको छ । रोका सामाजिक व्यक्तित्व हुनुहुन्छ । दुई तलामा कार्यालय र सहयोगी कक्ष रहने भवनको पहिलो तलामा उपचार तथा औषधि भण्डारण र दोस्रोमा शल्यक्रिया कक्षा बनाइने सभापति बानियाँले जानकारी दिनुभयो ।
संघले हाल बेनीमा भाडाको घरमा सञ्चालन गरेको आँखा उपचार कक्षको भवनबाट म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङका बासिन्दाले सेवा लिने गरेका छन् । भवन सम्पन्न भएपछि आँखाको शल्यक्रिया सम्बन्धी सेवा बेनीमै उपलब्ध गराउने र पोखरा जानुपर्ने समस्या हटाउने उद्देश्य राखिएको सभापति बानियाँले बताउनुभयो ।











