काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यद्वारा आज जारी विज्ञप्तिमार्फत प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
पछिल्लो समय जाजरकोट, रोल्पा, बाजुरा, कास्कीलगायत जिल्लामा बाढी तथा पहिरोका कारण मानवीय र भौतिक क्षति हुनुका साथै विभिन्न स्थानका सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमन प्रभावित भएको एमालेले जनाएको छ ।
एमालेले बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, पीडितको उद्धार तथा राहत वितरण र अवरुद्ध सडक तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै, उद्धार, राहत तथा सडक सञ्चालनका कार्यमा स्थानीय तह र सुरक्षाकर्मीसँग समन्वय गरी सक्रिय रूपमा जुट्न पार्टीका स्थानीय कमिटी तथा कार्यकर्तालाई एमालेले आह्वान गरेको छ ।









