काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक एकता, वैधानिकता र प्रजातान्त्रिक विचारको रक्षाका लागि पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै डा. महतले पार्टीलाई पद्धति र प्रक्रियाभन्दा बाहिर लगेर कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्नुभयो ।
नेता महतले चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई विस्थापित गर्न अनावश्यक रूपमा विशेष महाधिवेशनको प्रपञ्च रचिएको उल्लेख गर्नुभयो ।
पार्टीभित्रको वर्तमान विवाद र कानुनी प्रक्रियाका बारेमा प्रष्ट पार्दै डा. महतले सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसलामा गम्भीर त्रुटि रहेको र अहिले त्यसको पुनरावलोकन (निस्सा) प्राप्त भइसकेको जानकारी दिनुभयो । महतले वि.सं. २०३३ सालमा वीपी कोईरालाले राष्ट्रिय संकटका बेला अख्तियार गर्नुभएको ‘राष्ट्रिय एकता र मेलमिलाप’ को नीतिको सान्दर्भिकता अहिले पनि उत्तिकै रहेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नियमित अधिवेशनको सुनिश्चितता हुँदाहुँदै नेतृत्व परिवर्तनको नाममा विशेष अधिवेशनको जुन बाटो रोजियो, त्यसले पार्टीलाई मजबुत बनाउनुको साटो अन्योल मात्र सिर्जना गरेको छ । विगतमा भएका कतिपय निर्णयहरू अन्यायपूर्ण थिए भन्ने कुरा सर्वोच्चले पुनरावलोकनको अनुमति दिएबाटै स्पष्ट हुन्छ । अब पूर्ण इजलासबाट न्याय हुनेमा हामी विश्वस्त छौँ । देशमा अहिले फेरि एक पटक राष्ट्रिय संकटको अवस्था छ । यस्तो बेला राष्ट्रवादी र लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्छ र त्यसको नेतृत्व शेरबहादुर देउवाले नै गर्नुहुनेछ ।’
काँग्रेसको ‘आत्मा’ जोगाउनका लागि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै डा. महतले देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन सम्पन्न गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरिने विश्वास दिलाउनु भयो ।
उहाँले पार्टीभित्रको दुविधा त्याग गरी बृहत्तर एकतामा सहभागी हुन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान समेत गर्नुभयो ।–न्युज एजेन्सी नेपाल











