काठमाडौँ: आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लंदा नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बडो नरम थिए । उनले भनेका थिए— म नेता होइन, जनताको सेवक भएर विदेशबाट फर्किएको छु । म एउटा सामान्य नेपाली नागरिक हुँ र प्राण रहुन्जेल नेपालकै सेवा गर्छु, नेपाली जनताकै सेवा गर्छु ।
उनलाई स्वागत गर्न विमानस्थलमा ठूलै संख्यामा नेता कार्यकर्ता उपस्थित भएका थिए । उनीहरुले देउवालाई चारतारे झण्डाले स्वागत गरे र जयजयकार गर्दै गाडीमा राखेर यात्रा पनि गराए ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विज्ञप्तिमा पनि यही भाव मात्र होइन कि स्पष्ट भाषा नै व्यक्त गरेका गिए । उनले विमानस्थल ओर्लिएलगत्तै जारी गरेको विज्ञप्तिमा यतिमात्र नभएर पार्टीप्रति, सरकारप्रति पनि उनको नरमपन देखिएको थियो । त्यतिमात्र नभएर उनले आफूमाथि सांघातिक आक्रमण गरी घाइते बनाएको जेनजी आन्दोलनका बारेमा पनि कुनै नराकारात्मक टिप्पणी गरेका छैनन् । आन्दोलनको चचौ नगरे पनि उनले अबको नेपाल युवा पुस्ताले नै हाँक्ने हो भनेका छन् ।
उनले दिएको यो सन्देशको दुइ ओटै अर्थ लाग्छ आफ्नो पार्टी र सरकारमा । आफ्नो पार्टी पनि गएको पुस महिनामा गगन विश्वप्रकाशहरुले विशेष महाधिवेशनमार्फत् कब्जा गरेका छन् भने यता सरकार त जेनजीहरुको छँदैछ । अबको नेपाल युवा पुस्ताले नै हाँक्ने हो भनेर देउवाले दिएको सन्देशको यो दुवै अर्थ लगाउन सकिन्छ ।
तर आधाघन्टाको फरकमा अकस्मात फेरिए देउवा । पार्टीको संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवी पुगेपछि कार्यालयको कौसीबाट कडारूपमा प्रस्तुत भए । लामो समयको विदेश बसाइपछि बिहीबार मध्याह्न स्वदेश फर्किएका उनी सिधै संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवी पुगेका हुन् । सम्पर्क कार्यालयमा जम्मा भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूका बारेमा व्याख्या गर्दै यस्ता कामबाट आफू विचलित नहुने बताए ।
उनले भने ‘हाम्रो खिलापमा मुद्दा हाल्यो । अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो । यहीँ (नेपाल) मा पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ । सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो । तै पनि बदमासी ग¥यो ।’
त्यस सम्बोधनमाा उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले पटकपटक आफूहरूमाथि अनुसन्धान गरेको पनि बताए । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एक पटक आयो, केही छैन भन्यो । दोस्रो पटक आयो केही छैन भन्यो । उसलाई निकालिदियो । यतिसम्म बदमासीपूर्ण काम गरेको छ । तर मलाई बदलाको भावना लिनु छैन ।’
यसरी बोल्दै जाँदा निकै कड्किए देउवा । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई केही गर्न नसकेको भन्दै अरूले पनि केही गर्न नसक्ने बताए । ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ ?,’ उनको प्रश्न थियो ।
अहिलेको सरकारले जबर्जस्ती गरेको कुरा देशको अदालत र जनताले सबै बुझेको बताए । अनि आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने पनि उनले बताए । सम्बोधनमै उनले भने ‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र । मैले मात्रै चाहेर ल्याएको हो ? संविधानसभाले ल्याएको हो गणतन्त्र । मैले मात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन । नेपाली जनता सबैभन्दा ठूलो हो । जनता मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ ।’
विमानस्थल ओर्लंदा र विज्ञप्ति जारी गर्दासम्म बडो नरमभावमा प्रस्तुत भएका देउवा सम्पर्क कार्यालय पुगेपछि अकस्मात किन कड्किए होलान् ? यसको आँकलन अहिले नै कसैले गरेका छैनन् । तर, उनको आक्रोस् पार्टी कब्जा गर्ने गगन विश्वप्रकाशहरुमाथि र आफ्नो घर जलाएर निर्घात कुटपिट गर्ने जेनजी नेतृत्वहरुप्रति हुनसक्छ ।











