२६ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी र सिरहाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय नेपालमा गत वर्ष १२ अर्बको एफडीआई, जीडीपीसँगको अनुपात ०.१८ प्रतिशत मात्रै व्यवसायीको मनोबल खस्किदा बैंकको लगानी ३० अर्बले घट्यो: सीईओ ज्ञवाली ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसदको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’ खुश्बुको प्रश्नः ‘तथ्याङ्कमा मल छ, किसानको खेतमा किन छैन ?’ भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया



अ+ अ-

काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले जेन–जी आन्दोलनका क्रममा नष्ट भएका सरकारी स्रेस्ताको अभिलेख बैंक स्टेटमेन्ट, विद्युतीय प्रणाली र उपलब्ध अन्य प्रमाणका आधारमा पुनः कायम गर्न सकिने बताउनुभएको छ ।

स्रेस्ता नष्ट भएको विषयमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै महालेखा परीक्षक रायाले नष्ट भएका कागजातका कारण रुजु हुन नसकेको करिब १ खर्ब ४७ अर्ब ८९ करोड ६९ लाख ९० हजार रुपैयाँ बराबरको कारोबारलाई फरक–फरक प्रकृतिका आधारमा प्रमाणित गर्दै अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँका अनुसार सरकारी खर्चअन्तर्गत विनियोजन खर्च, धरौटी, पेश्की, जिन्सी तथा विभिन्न प्रयोजनका लागि खोलिएका खाताको अभिलेख फरक–फरक विधिबाट पुनः कायम गर्न सकिन्छ ।

विनियोजनतर्फ खर्च भइसकेको रकमको बैंक खाताबाट भएको भुक्तानीको विवरण अहिले पनि बैंक स्टेटमेन्टबाट प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । खर्चसँग सम्बन्धित मूल कागजात जलेर नष्ट भए पनि बैंकबाट रकम कहाँ र कुन शीर्षकमा भुक्तानी भएको थियो भन्ने विवरण लिएर सम्बन्धित समितिमार्फत प्रमाणित गर्न सकिने उहाँको भनाइ छ ।

त्यस्तै, धरौटीतर्फ सम्बन्धित व्यक्ति वा संस्थाको नाम र रकम बैंक तथा उपलब्ध अभिलेखका आधारमा पहिचान गर्न सकिने उहाँले बताउनुभयो । पुरानो धरौटीको विवरण नखुले सार्वजनिक सूचना जारी गरी दाबी तथा प्रमाण पेस गर्न आह्वान गर्न सकिने उहाँको भनाइ छ ।

पेश्कीको हकमा म्याद नाघेको र ननाघेको रकमको विवरण बैंक तथा उपलब्ध वित्तीय अभिलेखबाट पहिचान गर्न सकिने उहाँले जानकारी दिनुभयो । विभिन्न प्रयोजनका लागि खोलिएका खातामा रहेको रकमको विवरण पनि बैंक स्टेटमेन्टबाट निकालेर प्रमाणित गर्न सकिने उहाँले बताउनुभयो ।

महालेखा परीक्षक रायाले स्रेस्ता नष्ट भएको भन्दै सबै रकम एकैपटक मिनाहा गर्नु उपयुक्त नहुनेमा जोड दिनुभयो । उहाँले धरौटी, पेश्की लगायत फरक–फरक प्रकृतिका रकम रहेकाले प्रत्येक रकमको प्रकृति छुट्याएर आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो ।

“अहिले देखिएको १ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढीको रकमको हकमा सबै रकमलाई एकमुष्ट रूपमा ‘मिनाहा’ भनेर टुंग्याउनु उचित हुँदैन । किनभने त्यसभित्र धरौटी, पेश्कीलगायत फरक–फरक प्रकृतिका रकम पनि हुन सक्छन्,” उहाँले भन्नुभयो ।

उहाँले प्रहरी कार्यालयबाट गरिएको सरजमिन मुचुल्का र सम्बन्धित कार्यालयले क्षति भएको तथा कागजात उपलब्ध गराउन नसकिएको व्यहोरासहित दिएको पत्रसमेत प्रमाणका रूपमा रहेको जानकारी दिनुभयो ।

बैंक स्टेटमेन्ट, सफ्टवेयरमा रहेका तथ्यांक, उपलब्ध अन्य अभिलेख, प्रहरीको सरजमिन मुचुल्का र सम्बन्धित कार्यालयको पत्रलाई आधार बनाएर रकमको प्रकृति छुट्याउन सकिने उहाँले बताउनुभयो ।

रायाका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४६ तथा सोअन्तर्गतको नियमावली, २०७७ को नियम १११ मा प्राकृतिक प्रकोप तथा दुर्घटनाबाट स्रेस्ता र जिन्सी सामान नष्ट भएमा मिनाहासम्बन्धी व्यवस्था गरिएको छ ।




भर्खरै