११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

जलेका सरकारी स्रेस्ताको वैकल्पिक प्रमाणबाट लेखापरीक्षण गर्न सांसदहरूको जोड

जलेका सरकारी स्रेस्ताको वैकल्पिक प्रमाणबाट लेखापरीक्षण गर्न सांसदहरूको जोड
अ अ+ अ-

काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नष्ट भएका सरकारी कार्यालयका स्रेस्ता तथा कागजातको क्षतिलाई आधार बनाएर लेखापरीक्षण रोक्न नहुनेमा सांसदहरूले जोड दिएका छन् ।

मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले जलेका मूल कागजात उपलब्ध नभए पनि डिजिटल अभिलेख, बैंकिङ विवरण, राजस्व तथा अन्य वैकल्पिक प्रमाणका आधारमा कारोबार पुनर्निर्माण गरी लेखापरीक्षण अघि बढाउनुपर्ने बताएका हुन् ।

महालेखापरीक्षकको कार्यालयले आन्दोलनका क्रममा सरकारी स्रेस्ता नष्ट भएका कारण करिब १ खर्ब ४७ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार लेखापरीक्षण हुन नसकेको जानकारी समितिलाई गराएको थियो । त्यसपछि सांसदहरूले कागजात जलेको अवस्थालाई मात्र आधार बनाएर सम्पूर्ण कारोबारलाई लेखापरीक्षणको दायराबाट बाहिर राख्न नहुने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले जलेका स्रेस्ताको समस्या सामान्य लेखापरीक्षण प्रक्रियाबाट मात्रै समाधान गर्न नसकिने बताउनुभयो । दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्था संशोधन गर्नुपर्ने र संवेदनशील प्रकृतिका स्रेस्ता क्षतिको अध्ययन गर्न छुट्टै संयन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो ।

सरकारी कार्यालयमा भएका खरिद तथा कारोबारका ‘सोर्स पोइन्ट’ समेत अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले जलेका कार्यालयका अभिलेखमा मात्र अनुसन्धान सीमित गर्न नहुने बताउनुभयो । खरिद गरिएका सामग्री तथा सेवाको बिल, टेन्डर र भुक्तानीसम्बन्धी कागजात सम्बन्धित आपूर्तिकर्ता तथा अन्य स्रोतमा समेत सुरक्षित हुन सक्ने भएकाले ती स्रोतबाट प्रमाण संकलन गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले २३ र २४ भदौको आन्दोलनबाट भएको स्रेस्ता क्षतिलाई विद्यमान कानुनी व्यवस्थाले प्राकृतिक प्रकोप वा दुर्घटनाका रूपमा समेट्न नसक्ने बताउनुभयो । यस विषयमा सरकारले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने र आवश्यक परे छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

मूल कागजात नष्ट भए पनि महालेखा नियन्त्रकको प्रणाली, बैंक भुक्तानी, राजस्व तथा अन्य डिजिटल अभिलेखबाट कारोबार पुनः प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । साथै, सरकारले गठन गरेको कार्की आयोगको प्रतिवेदनमा कुन कार्यालयका कति स्रेस्ता जलेका छन् भन्ने स्पष्ट विवरण समेटिएको छ कि छैन भन्ने प्रश्नसमेत उहाँले उठाउनुभयो ।

नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले झन्डै डेढ खर्ब रुपैयाँ बराबरको कारोबार लेखापरीक्षणको दायराबाट बाहिर रहने अवस्था गम्भीर रहेको बताउनुभयो । डिजिटल प्रणालीको विकास भइसकेको अवस्थामा कागजी अभिलेख जलेपछि सबै प्रमाण समाप्त भएको मान्न नसकिने उहाँको भनाइ थियो ।

गोश्वारा भौचर, बैंक भुक्तानी विवरण, प्रमाणित आर्थिक विवरणलगायत उपलब्ध प्रमाणका आधारमा लेखापरीक्षण गर्न सकिने बताउँदै उहाँले सम्बन्धित निकायले प्रमाण खोज्न पर्याप्त प्रयास गरेको हो कि होइन भन्ने प्रश्न गर्नुभयो । प्रमाण खोज्ने र लेखापरीक्षण गराउने दायित्वबाट कुनै पनि निकाय पन्छिन नहुने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले स्रेस्ता जलेका कारण १ खर्ब ४७ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार लेखापरीक्षणको दायराबाट बाहिर राख्न नहुने बताउनुभयो । स्रेस्ता जलेको र बेरुजु मिनाहा भएको विषयलाई एउटै रूपमा बुझ्न नहुने उहाँको भनाइ थियो ।

कागजात नष्ट भए पनि सम्बन्धित कारोबार वैध थियो कि थिएन तथा त्यसमा बेरुजु, अनियमितता वा भ्रष्टाचार थियो कि थिएन भन्ने विषयको परीक्षण हुनुपर्ने उहाँले बताउनुभयो । पूर्ण रूपमा पुनः प्राप्त गर्न सकिने, आंशिक रूपमा पुनः प्राप्त गर्न सकिने र वास्तविक रूपमा पुनः प्राप्त गर्न नसकिने गरी प्रमाणलाई वर्गीकरण गरेर मात्र मिनाहा प्रक्रियामा जानुपर्ने उहाँको भनाइ थियो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले पनि समस्या कानुनी बाटोबाटै समाधान गर्नुपर्ने बताउनुभयो । विद्यमान कानुनले नसमेटे नयाँ कानुन बनाएर भए पनि समाधान खोज्नुपर्ने उहाँको भनाइ थियो ।

स्रेस्ता जलेको आधारमा तत्काल मिनाहा प्रक्रियामा जानुभन्दा उपलब्ध सबै प्रमाणको अधिकतम खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । प्रमाणको अवस्था स्पष्ट भएपछि मात्रै कानुनअनुसार कति रकम मिनाहा गर्नुपर्ने हो भन्ने निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा सांसदहरूले जलेका मूल स्रेस्ताको क्षतिलाई आधार बनाएर सम्पूर्ण कारोबारलाई स्वतः लेखापरीक्षणबाट बाहिर राख्न नहुनेमा साझा धारणा राखेका छन् । उपलब्ध डिजिटल अभिलेख, बैंकिङ विवरण, राजस्व तथा अन्य द्वितीयक प्रमाणका आधारमा कारोबार पुनर्निर्माण गरी लेखापरीक्षण गर्नुपर्ने र त्यसपछि मात्रै कानुनी रूपमा आवश्यक मिनाहा प्रक्रियामा जानुपर्नेमा उनीहरूले जोड दिएका छन् ।