२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक कोईराला



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्व नदिन कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

सोमबार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले पार्टी सभापति गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताउनुभएको हो ।

अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने उल्लेख गर्दै उहाँले नेपाली काँग्रेस आफैँमा गौरवशाली इतिहास बोकेको सुन्दर पार्टी भएको दाबी गर्नुभयो । पार्टी सभापति थापालाई गाली गर्दा उल्टै उहाँलाई महत्व दिएको हुने भन्दै डा. कोइरालाले कार्यकर्ताहरूलाई त्यस्तो नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अरूलाई कुरूप देखेर आफू सुन्दर हुँदैन । आफूलाई नै सुन्दर पार्नुपर्छ । हामी गगन थापालाई किन गाली गर्छौँ ? गाली गर्नै पर्दैन । गाली गर्‍यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ । त्यसैले किन तपाईंहरू गाली गर्नुहुन्छ ? केही भन्दै नभन्नुस् । त्यो नै सबैभन्दा ठूलो अपमान हो ।”

नेपाली काँग्रेसलाई ‘बुढाहरूको पार्टी’ भन्ने गरिएकोप्रति टिप्पणी गर्दै डा. कोइरालाले पार्टीको भविष्य युवाहरूको हातमा रहेको बताउनुभयो । आफूहरू वृद्ध हुँदै गएको उल्लेख गर्दै उहाँले युवालाई नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाली काँग्रेसको इतिहास र योगदानलाई बुझेर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसको स्थापना र लोकतान्त्रिक संघर्षमा बीपी कोइराला तथा कृष्णप्रसाद कोइरालाले गरेको योगदान स्मरण गर्दै उहाँले नेपाली जनतालाई अधिकार दिलाउन र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

पार्टीभित्र अहिले आफूलाई कठिन परिस्थितिमा संयोजकको जिम्मेवारी दिइएको उल्लेख गर्दै डा. कोइरालाले सबै पक्षलाई समेटेर नेपाली काँग्रेसलाई एकताबद्ध बनाउनु आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

“मैले आफ्नो जीवनमा आज मलाई अत्यन्त अप्ठ्यारो ठाउँमा उभाइदिनुभएको छ नेताहरूले, संयोजक बनाएर । म एक्लो मान्छे हो । तर म के चाहन्छु भने सबैलाई समावेश गरेर पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो,” उहाँले भन्नुभयो ।

डा. कोइरालाले पार्टीको इतिहास, सिद्धान्त र योगदानलाई गहिराइपूर्वक बुझेर संगठनलाई थप सुदृढ बनाउन कार्यकर्ताहरूलाई आह्वानसमेत गर्नुभयो ।