काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग आज छलफल जारी राख्नुभएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी प्रतिनिधिसँग छलफल गरिरहनुभएको हो।
काठमाडौँस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा जारी छलफलमा नेपालमा लगानी गरेका ठूला करदाता कम्पनीहरूले बजेटमार्फत प्राप्त सुविधा, व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या तथा आगामी दिनमा लगानी विस्तारका विषयमा आफ्ना धारणा राखिरहेका छन्।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा कम्पनीका प्रतिनिधिहरूसँग सुझाव लिइरहनुभएको छ। उहाँले कम्पनीहरूलाई आफ्ना समस्या र सुझाव खुलस्त रूपमा राख्न तथा लिखित विवरणसमेत पेश गर्न आग्रह गर्नुभएको छ।
छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राईप्स, गोर्खा ब्रुअरी, हिमालय एअरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, वोटलर्स नेपाल (तराई), युनिलिभर नेपाल, एशियन पेन्ट्स नेपाललगायत २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि सहभागी छन्।
त्यस्तै पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट नारायणी, न्यू होप एग्रो बिजनेस नेपाल, नेपाल वेलहोप एग्रि–टेक, वरुण बेभरेज नेपाल, टर्किस एयरलाइन्स इन्कर्पोरेसन, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल)का प्रतिनिधिसमेत छलफलमा सहभागी छन्।
यसअघि बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसक्नुभएको छ।
यस्तै, उहाँले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसक्नुभएको छ।











