सुनसरी। शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्न विभिन्न धार्मिक सम्प्रदायका धर्मगुरु तथा सामाजिक अगुवाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आज आयोजित संयुक्त भेलामा सहभागी हिन्दू, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको हो ।
यही साउन १० गते आइतबार राति करिब १०ः३० बजे साउने सोमबारको बोलबम मेलाका लागि शिव मन्दिरमा जल चढाउन कोशी नदीबाट जल ल्याउने तयारीमा रहेका युवाले ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । सोही क्रममा गोली लागी घाइते भएका १० जनामध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो ।
छलफलमा सहभागी धर्मगुरुहरूले सुनसरीको सामाजिक सद्भाव, सहिष्णुता र आपसी भाइचारामा आँच आउन नदिन सबै पक्ष गम्भीर हुनुपर्ने साथै समाजमा अफवाह फैलिन नदिन तथा शान्तिपूर्ण वातावरण बनाउन धर्मगुरुहरूको भूमिका महत्वपूर्ण हुने बैठकले निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । नागरिकको सुरक्षा प्रशासनको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै जिल्लामा शान्ति, अमनचयन र आपसी सद्भाव कायम राख्न सबै पक्षबाट रचनात्मक सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
बैठकमा सहभागी धार्मिक तथा सामाजिक अगुवाहरूले समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन तथा सद्भाव सुदृढ गर्न ठोस पहल गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । रासस











