काठमाडाैँ । वागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेस वागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत र विपन्न समुदायको उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । मुख्यमन्त्री बानियाँले नेपालको लोकतान्त्रिक आन्दोलन र संघीय गणतन्त्र प्राप्तिको संघर्षमा आदिवासी जनजाति समुदायको ठूलो बलिदान रहेको चर्चा गर्नुभयो ।
उहाँले नेपाली काँग्रेसको इतिहासमा लौह पुरुष गणेशमान सिंह, भीमबहादुर तामाङ र बखानसिंह गुरुङ जस्ता योद्धाको योगदान स्मरणीय रहेको बताउँदै काँग्रेस सधैँ जनजातिको अस्तित्व र पहिचानको पक्षमा लड्ने पार्टी भएको दाबी गर्नुभयो । विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पु¥याउन वागमती प्रदेश सरकारले प्रभावकारी कदम चालेको मुख्यमन्त्री बानियाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार चेपाङ, बोटे र जिरेल जस्ता अति पिछडिएका समुदायका विद्यार्थीलाई डाक्टर, इन्जिनियर तथा पशु चिकित्सक (भेटेरिनरी) पढाउन सरकारले पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ ।
आगामी दिनमा यो संख्या अझै बढाइने र प्रवेश परीक्षामा नाम निकालेर पनि आर्थिक अभावमा ‘पेयबल’ कोटामा पढ्न नसक्ने जनजातिका छोराछोरीको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
वागमती प्रदेश सरकारले आदिवासी जनजातिको भाषिक अधिकारलाई सुनिश्चित गर्दै नेपाल भाषा (नेवारी) र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याइसकेको उहाँले उल्लेख गर्नुभयो । यस्तै, आदिवासी जनजाति महासंघको भवन निर्माणका लागि सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको र बाँकी आवश्यक बजेट पनि उपलब्ध गराउने आश्वासन उहाँले दिनुभयो । नेपाली काँग्रेसका संस्थापक नेताहरूको आदर्श स्मरण गर्दै मुख्यमन्त्री बानियाँले धर्म व्यक्तिको व्यक्तिगत आस्थाको विषय भएको र राज्यले सबै धर्मप्रति समभाव राख्नुपर्ने बताउनु भयो ।










