काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्राध्यापक डा. चन्द्रमोहन यादवले मधेस प्रदेशको धनुषास्थित ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टरको निर्माण प्रक्रिया कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ ।
बिहीवार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले पूर्वसहमति र अध्ययन भइसकेको उक्त आयोजना अलपत्र परेकोमा आपत्ति जनाउनुभएको हो । सांसद यादवले ढल्केबर पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थल हुनुका साथै मधेस प्रदेशको राजधानी जनकपुरधाम जोड्ने प्रमुख व्यापारिक केन्द्र भएकाले यहाँ सवारी साधनको चाप अत्यधिक रहने बताउनु भयो ।
भौगोलिक र रणनीतिक हिसाबले यो क्षेत्रमा सडक दुर्घटनाको जोखिम उच्च रहेको उल्लेख गर्दै उहाँले यहाँ अत्याधुनिक ट्रमा सेन्टरको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले मधेस प्रदेशको करिब २१ प्रतिशत जनसंख्या र विशेषगरी ढल्केबर आसपासका चार जिल्ला (धनुषा, महोत्तरी, सर्लाही र रौतहट) को मात्रै ३२ लाखभन्दा बढी जनसंख्यालाई सेवा पुग्ने गरी यो केन्द्र स्थापना हुनुपर्ने तर्क गर्नुभयो।
सांसद यादवले यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भई जग्गा प्राप्तिको प्रक्रिया समेत अघि बढिसकेको अवस्थामा आयोजना रोकिनु दुर्भाग्यपूर्ण भएको बताउनु भयो । उहाँले यदि सरकारले अन्य कुनै स्थानमा यस्तो केन्द्र बनाउन खोजेको भए त्यसको वैज्ञानिक आधार हुनुपर्ने र पहिले नै स्वीकृत भइसकेको ढल्केबरको आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने माग गर्नुभयो । –न्युज एजेन्सी नेपाल











