६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक

जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक
अ+ अ-

काठमाडाैँ ।  काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य कारण ढल निकास संरचनाको क्षमतामा रहेको असन्तुलन भएको प्राविधिक प्रतिवेदनले निष्कर्ष निकालेको छ।

प्रतिवेदनअनुसार जमल क्षेत्रमा ज्याठा, निर्वाचन आयोग, यल्लो प्यागोडा होटल र जनप्रशासन क्याम्पसतर्फबाट क्रमशः ६०, ९०, ४५ र २० सेन्टिमिटर व्यासका पाइपमार्फत वर्षाको पानी र ढलको पानी जमल चोकमा आइपुग्ने गर्छ। यी सबैबाट आउने पानीको कुल प्रवाह क्षेत्रफल ०.८२६ वर्गमिटर रहेको छ।

तर, उक्त पानी बाहिर निकास गर्ने ढल भने ६० सेन्टिमिटर व्यासको मात्र रहेको र यसको निकास क्षमता ०.२८३ वर्गमिटर भएकाले पानी सहज रूपमा बाहिर जान नसक्दा जमल क्षेत्र डुबानमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले टुकुचा खोलाको सतह र ढल निकासको अन्तिम बिन्दुबीच उचाइको अन्तर निकै कम भएकाले ठूलो वर्षा हुँदा टुकुचाको पानी उल्टै ढलभित्र पस्ने र निकास अवरुद्ध हुने समस्या पनि औँल्याएको छ। यसलाई यसअघि माइतीघर मण्डलामा देखिएको ‘बोटलनेक’ समस्यासँग तुलना गरिएको छ।

जमलमा पटक–पटक डुबान हुन थालेपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्बन्धित निकायलाई संयुक्त प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको थियो। त्यसपछि महानगरपालिकाको विपद् व्यवस्थापन विभागको संयोजनमा सरोकारवाला निकायका प्राविधिकहरूले स्थलगत अध्ययन गरेका थिए।

स्थलगत अध्ययनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित प्राविधिक समितिले प्रतिवेदन तयार गरेको हो। समितिमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं महानगरपालिका र डिभिजन सडक कार्यालयका प्राविधिकहरू सहभागी थिए।

तत्कालदेखि दीर्घकालीनसम्मका उपाय

समितिले डुबान समाधानका लागि तत्काल, मध्यकालीन र दीर्घकालीन गरी तीन तहका योजना सिफारिस गरेको छ।

तत्कालका लागि जमलदेखि केशरमहलसम्म थप क्याचपिट निर्माण, ढल, म्यानहोल र क्याचपिटमा जमेको बालुवा, लेदो तथा फोहोर नियमित सफा गर्ने र टुकुचा खोलाको बहाव सहज बनाउन खोला सफा गर्नुपर्ने सुझाव दिइएको छ।

मध्यकालीन योजनाअन्तर्गत हालको ६० सेन्टिमिटर व्यासको निकास पाइप हटाएर ठूलो क्षमताको ‘ट्रंक लाइन’ निर्माण गर्नुपर्ने, जमल चोकमा पानीको चाप घटाउन डाइभर्सन प्रणाली विकास गर्नुपर्ने तथा जनप्रशासन क्याम्पस–उडल्याण्ड होटल हुँदै महेन्द्र सालिकसम्मको पुरानो ढल प्रणाली पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, त्रिचन्द्र बहुमुखी क्याम्पससहित आसपासका होटल, सपिङ मल, विद्यालय र निजी जग्गामा वर्षाको पानी पुनःभरण (रिचार्ज) प्रणाली लागू गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ।

दीर्घकालीन रूपमा भने जमल क्षेत्रका भवनमा वर्षाको पानी संकलन (रेन वाटर हार्भेस्टिङ) र भूमिगत जल पुनःभरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणाली अनिवार्य गर्नुपर्ने, सडकमा जम्ने वर्षाको पानीका लागि छुट्टै ‘स्टोर्म वाटर ड्रेनेज’ प्रणाली विकास गरी प्रशोधनपछि रानीपोखरीलगायत जलाशयमा पुनःभरण गर्नुपर्ने सिफारिस गरिएको छ।

प्रतिवेदनले सन् २०१८ मा तयार गरिएको ‘डिटेल्ड डिजाइन अफ सेवर रिह्याबिटेसन इन द कोर सिटी एरिया अफ काठमाडौं मेट्रोपोलिटन सिटी’ अध्ययनलाई परिमार्जनसहित कार्यान्वयनमा लैजान सके जमलको डुबान समस्या स्थायी रूपमा समाधान गर्न सकिने निष्कर्ष निकालेको छ।