१८ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलिब्रिज बनेसँगै नार्पाभूमिका बासिन्दाले पाए सहज आवतजावत



अ+ अ-

मनाङ, साउन १८ गते । मनाङको मर्स्याङ्दी नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएपछि नार्पाभूमि गाउँपालिकाका बासिन्दाको आवागमन, सेवा प्रवाह तथा अत्यावश्यक वस्तुको ढुवानीमा सहज भएको छ ।

५४.५ मिटर लामो र चार मिटर चौडा ‘मर्स्याङ्दी-नारफू’ बेलिब्रिज सोमबार उद्घाटन गरिएको हो । पुलले चामे गाउँपालिका-३ कोतो र वडा ५ लाई जोडेको छ । पुलको प्रयोग मुख्य रूपमा नार्पाभूमि गाउँपालिकाका बासिन्दा, पर्यटक तथा सरकारी कर्मचारीले गर्नेछन् ।

बेलिब्रिज सञ्चालनमा आएसँगै नार्पाभूमि गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने आधार तयार भएको गाउँपालिकाले जनाएको छ । चामे गाउँपालिका-५ र नार्पाभूमि गाउँपालिका–२ छ्याज्यालाई जोड्ने नार खोलामाथिको पुल निर्माण सम्पन्न भएपछि गाउँपालिका पूर्ण रूपमा सडक सञ्जालमा आवद्ध हुने जनाइएको छ ।

सोमबार पुल उद्घाटन गर्दै नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले सडक पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार तथा सरकारी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले सडक निर्माणको कामलाई पनि तीव्रता दिइने जानकारी दिनुभयो ।

नार्पाभूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रालिको साझेदारीमा निर्माण भएको पुल सम्झौता भएको सात महिनामै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले पुल सञ्चालनमा आएपछि नार्पाभूमिलाई सडक सञ्जालसँग जोड्ने प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षभित्र नार खोलामाथिको पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

गाउँपालिकाका कर्मचारी वीरेन्द्रसिंह बोहराले पुल सञ्चालनसँगै निर्माण सामग्री, खाद्यान्न, औषधी लगायत अत्यावश्यक वस्तुको ढुवानी सहज हुने तथा स्थानीय कृषि र पशुजन्य उत्पादनको बजारीकरण एवं पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।