१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै आफूले वर्षौंअघि अघि बढाएको दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै खनालले काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने लाखौँ नागरिकले दशकौँदेखि भोग्दै आएको ट्राफिक जाम र कठिन यात्राको समस्या आफूले नजिकबाट अनुभव गरेको उल्लेख गरेका छन्।

उनले राष्ट्रको प्रगति राजनीतिक परिवर्तनबाट मात्र सम्भव नहुने भन्दै जनजीवन सहज बनाउने दूरदर्शी पूर्वाधार निर्माण अपरिहार्य रहेको बताएका छन्।

खनालका अनुसार वि.सं. २०६७ माघ २३ गते आफ्नो नेतृत्वमा सरकार गठन भई प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन आफूले हस्ताक्षर गरेको पहिलो फाइल नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणसम्बन्धी थियो। त्यसपछि २०६७ माघ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजनालाई स्वीकृत गरेको र वि.सं. २०६८ मा आयोजनालाई नीतिगत रूपमा अघि बढाउने निर्णय भएको उनले बताएका छन्।

आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत आयोजनाको कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरिएको स्मरण गर्दै खनालले अहिले सुरुङमार्ग सञ्चालनमा आउँदा आफूलाई खुसी लागेको बताएका छन्।

उनले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको जीवन्त प्रतीकका रूपमा चित्रण गरेका छन्।

राष्ट्र निर्माण कुनै एक व्यक्ति, एक सरकार वा एक समयको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै खनालले निरन्तरता, सहकार्य र सामूहिक उत्तरदायित्वबाट मात्रै यस्ता राष्ट्रिय आयोजना सफल हुने बताएका छन्।

उनले आयोजनालाई सफलतापूर्वक सम्पन्न गराउन विभिन्न समयमा नेतृत्व प्रदान गर्ने सरकारहरू, मजदुर, प्राविधिक तथा कर्मचारीहरू, जापान सरकार र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै बधाई दिएका छन्।

खनालले सुरुङमार्गले नेपालको पूर्वाधार विकासको इतिहासमा नयाँ युगको सुरुवात गरेको दाबीसमेत गरेका छन्। यसले सुरक्षित, सहज, द्रुत र आधुनिक यातायात प्रणालीको विकाससँगै राष्ट्रिय अर्थतन्त्र सुदृढीकरण, उत्पादनशीलता विस्तार, पर्यटन प्रवर्द्धन र समग्र विकास यात्रालाई नयाँ गति दिने विश्वास उनले व्यक्त गरेका छन्।