काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट शक्तिहरू सत्ता र सरकार सञ्चालनमा मात्रै केन्द्रित हुँदा विरोधी शक्तिहरूले नेपालमा कम्युनिस्टलाई कमजोर पार्ने दीर्घकालीन रणनीति बनाउन सफल भएको बताएका छन् ।

शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनले वैचारिक प्रशिक्षण र निरन्तर स्कुलिङलाई प्राथमिकता नदिँदा अहिलेको अवस्था सिर्जना भएको धारणा राखे ।
उनका अनुसार नेपालका कम्युनिस्ट शक्तिहरू शान्ति सम्झौतापछि सरकार गठन, मन्त्री बन्ने तथा स्थानीय, प्रदेश र संघीय तहमा निर्वाचित हुने विषयलाई नै प्रमुख राजनीतिक उपलब्धिका रूपमा लिन थाले । त्यसक्रममा वैचारिक र रणनीतिक पक्ष ओझेलमा पर्दा कम्युनिस्ट विरोधी शक्तिहरूले त्यसको फाइदा उठाएको उनको भनाइ थियो ।
‘हामी रणनीतिलाई भुल्यौँ, छाड्यौँ या अवमूल्यन गर्यौँ । विचार र निरन्तर स्कुलिङको आवश्यकतालाई पनि बिर्सियौँ,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री र मन्त्री बन्ने, पालिका तथा प्रदेशमा निर्वाचित हुने कुरालाई नै रणनीति जस्तो बनाइयो । कम्युनिस्टको गल्ती त्यहीँनेर भयो ।’
प्रचण्डले नेपालमा कम्युनिस्ट शक्तिको प्रभाव बढ्दै गएपछि त्यसलाई कमजोर बनाउने उद्देश्यले विरोधीहरूले २० वर्षे योजना बनाएको दाबीसमेत गरे । आफूहरूले विरोधी शक्तिको रणनीतिबारे सामान्य जानकारी पाए पनि नेपाललाई एकैपटक ठूलो क्षति पुर्याउने तहसम्मको योजना बनेको अनुमान गर्न नसकेको उनले बताए ।
‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन् । नेपालमा कम्युनिस्ट बढी भए, यिनलाई ठीक पार्नुपर्छ भनेर २० वर्षे योजना बनाएछन्,’ उनले भने ।
उनले कम्युनिस्ट आन्दोलनलाई पुनः वैचारिक रूपमा सुदृढ गर्दै दीर्घकालीन रणनीतिसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
न्यूजपोलार
८ श्रावण २०८३, शुक्रबार १५:५२
न्यूजपोलार
८ श्रावण २०८३, शुक्रबार १५:५२
८ श्रावण २०८३, शुक्रबार १५:५२










