६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठ वटा विषयगत समितिले पूर्णता पाएका छन् । समितिहरूका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गर्दै महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले महासंघका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभयो ।

उहाँले समितिहरू सरकार र निजी क्षेत्रबीच नीतिगत संवाद, समस्या समाधान र सुधारका एजेन्डा अघि बढाउने प्रभावकारी संयन्त्र भएको उल्लेख गर्दै भन्नुभयो, “समितिका सदस्यहरूले आफ्नो अनुभव, विज्ञता र व्यावसायिक दक्षतालाई राष्ट्रको आर्थिक विकासमा उपयोग गर्नुपर्छ । उद्योग, व्यापार, लगानी, निर्यात, उद्यमशीलता तथा रोजगारी विस्तारका क्षेत्रमा परिणाममुखी ढंगले काम गर्न सके मात्रै समितिको उद्देश्य पूरा हुन्छ ।” उहाँले भन्नु भयो ।

महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघको नीतिगत एजेन्डा निर्माणका महत्वपूर्ण आधार भएको बताउँदै निजी क्षेत्रका साझा मुद्दालाई एकीकृत रूपमा अघि बढाउन समितिहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले विभिन्न वस्तुगत संघहरूको अनुभव र सुझावलाई समितिमार्फत नीतिगत निर्णय प्रक्रियासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले समितिहरूलाई निजी क्षेत्रका नयाँ सोच, नवप्रवर्तन र व्यावसायिक अवसर पहिचान गर्ने साझा मञ्चका रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारसँग तथ्यमा आधारित संवाद गर्दै सुधारका प्रस्ताव अघि बढाउन समितिहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको प्रभावकारिता उनीहरूको कार्यसम्पादनबाट मापन हुने बताउँदै निजी क्षेत्रका व्यावहारिक समस्या समाधान र आर्थिक गतिविधि विस्तारमा केन्द्रित भएर काम गर्न सदस्यहरूलाई आग्रह गर्नुभयो । उहाँले समितिका सुझावहरूले महासंघको नीतिगत धारणा थप सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघका कार्यकारिणी समिति सदस्य उज्ज्वल श्रेष्ठको सभापतित्वको उद्योग समिति, अरनिको राजभण्डारीको सभापतित्वको कर तथा राजस्व समिति, नानीराज घिमिरेको सभापतित्वको सीप विकास तथा रोजगार समिति, होमप्रसाद घिमिरेको सभापतित्वको निर्यात प्रवद्र्धन समिति, राजकुमार कार्कीको सभापतित्वको सामाजिक सेवा एवं विपद् तथा दैवी प्रकोप समिति, प्रियराज रेग्मीको सभापतित्वको पूँजी बजार समिति र सनिता नेमाफुकीको सभापतित्वको महिला उद्यमी विकास समिति तथा साहारा जोशीको सभापतित्वमा गठित स्टार्टअप एण्ड इनोभेसन समितिका उपसभापति, सदस्य र सल्लाहकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा समितिका सभापतिहरूले मनोनित सदस्यहरूलाई बधाई दिँदै विषयगत समितिहरूमार्फत निजी क्षेत्रका साझा मुद्दालाई व्यवस्थित रूपमा अघि बढाउने, सरकारलाई समयानुकूल नीतिगत सुझाव दिने तथा उद्योग, व्यापार, लगानी, कर सुधार, निर्यात प्रवद्र्धन, सीप विकास, नवप्रवर्तन र उद्यमशीलता विस्तारका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उद्योग समितिका सभापति उज्ज्वल श्रेष्ठले उद्योग क्षेत्रका विद्यमान समस्या समाधानका लागि समितिले व्यावहारिक सुझाव तयार गरी महासंघमार्फत सरकारसमक्ष प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कर तथा राजस्व समितिका सभापति अरनिको राजभण्डारीले कर प्रणालीलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन निजी क्षेत्रको साझा धारणा निर्माण गरी नीतिगत सुधारमा समितिले सक्रिय भूमिका खेल्ने बताउनुभयो ।

सीप विकास तथा रोजगार समितिका सभापति नानीराज घिमिरेले उद्योगको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन र रोजगारी विस्तारका कार्यक्रम अघि बढाउन समितिले विशेष पहल गर्ने धारणा राख्नुभयो ।

निर्यात प्रवद्र्धन समितिका सभापति होमप्रसाद घिमिरेले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार, निर्यात प्रवद्र्धन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि समितिले निजी क्षेत्रसँग सहकार्य गर्दै काम गर्ने बताउनुभयो ।सामाजिक सेवा एवं विपद् तथा दैवी प्रकोप समितिका सभापति राजकुमार कार्कीले सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनमा निजी क्षेत्रको योगदानलाई थप प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ्ने उल्लेख गर्नुभयो ।
पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले पूँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा वित्तीय स्रोत परिचालनका विषयमा नीतिगत सुझाव तयार गर्न समितिले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो ।

महिला उद्यमी विकास समितिकी सभापति सनिता नेमाफुकीले महिला उद्यमशीलताको प्रवद्र्धन, आर्थिक सशक्तीकरण र व्यवसाय विस्तारका अवसर सिर्जना गर्न समितिले परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वक्ताहरूले विषयगत समितिहरू महासंघको नीति निर्माण, निजी क्षेत्रका साझा एजेन्डा पहिचान तथा सरकारसँग प्रभावकारी समन्वय गर्ने प्रमुख माध्यम भएकाले सबै सदस्यले सक्रिय, जिम्मेवार र परिणाममुखी ढंगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।