काठमाडाैँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारी कारवाहीबाट रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिनुभयो । आव २०८१÷८२ मा ३२ हजार १५७ सवारी चालकमाथि गरिएको कारवाहीबाट रु दुई करोड ५१ लाख १९ हजार ५०२ राजस्व सङ्कलन गरेको थियो । त्यस अवधिमा सिरहा जिल्लामा आव २०८२÷८३ मा भएको एक हजार २० सवारी दुर्घटना भएका थिए ।
ती दुर्घटनमा परी ६२ पुरुष, सात महिला र १२ जना बालबालिकाको मृत्यु भएको थियो भने एक हजार ६७६ जना घाइते भए । अघिल्लो आव २०८१÷८२ मा सिरहामा ९६७ सवारी दुर्घटना हुँदा ६४ पुरुष, १४ महिला र ११ बालबालिकाको मृत्युु भएको थियो ।
ती घटनामा एक हजार ५५४ घाइते भएका थिए । सडक अवस्था, मानवीय लापरवाहीलगायतका कारण सवारी दुर्घटना केही बढे पनि विगतका तुलनामा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या त्यस आर्थिक बर्षमा घटेको प्रहरी निरीक्षक मरासिनीले बताउनुभयो । पछिल्लो वर्षमा ट्राफिक सचेतना र नियमित जाँचका कारण सवारी दुर्घटनामा कमी आएको विश्वास गरिएको छ । रासस











