काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा २५ वर्षीया युवतीको हत्या भएको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठाभित्र २५ वर्षीया निशा सुनार मृत अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको प्रहरीले जनाएको छ।
गेस्ट हाउस सञ्चालकले कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव बरामद गरी अनुसन्धान सुरु गरेको हो।
मृतक निशा सुनार कैलालीको धनगढी उपमहानगरपालिकाकी स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि प्रहरीको अनुसन्धान र खोजी कार्य तीव्र रूपमा अघि बढाइएको छ। प्रहरीले घटनाका सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।











