२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत उहाँले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भिकतापूर्वक उभिनुभएका नागरिक अगुवा डा पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट सङ्घर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो ।”

अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभएको थापाको भनाइ छ । सार्वजनिक जीवनमा उहाँले देखाउनुभएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेमा थापाले विश्वास व्यक्त गर्नुभएको छ ।

“सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताका पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ, उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप र छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ”, सभापति थापाले भन्नुभएको छ ।

डा पाण्डेको शुक्रबार साँझ काठमाडौँको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो । उहाँलाई शुक्रबार नै पाटन अस्पतालबाट निवास ल्याइएको थियो । रासस