३१ असार २०८३, बुधबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः मल अभाव, प्रेस स्वतन्त्रता र सुरक्षा चुनौतीबारे सांसदहरूको सरकारको ध्यानाकर्षण कानून मन्त्रालयले सङ्‍घीय संसद्लाई बुझायो आउने आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरुको सूची डोजर अभियानमा ९ जनाको मृत्यु, ‘संस्थागत हत्या’ भएको सांसद गीता गुरुङको आरोप प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान स्वास्थ्यदेखि वित्तीय साक्षरतासम्मः सामाजिक जिम्मेवारीमा ग्लोबल आइएमई डिप्रेसनमा रहेका रौतहटका २८ वर्षीय सहानीद्वारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पतालमा ‘रिफर’ सेबोनमाथि सांसद अधिकारीको प्रश्नः ‘वर्षौंसम्म उधारो शेयर कारोबार कसरी लुक्यो ?’ उपसभामुख नेतृत्वको टोली चीनतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा कपडा उद्योगमा सरसफाई र विद्युत जडानको काम हुँदै



अ+ अ-

काठमाडाैँ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा सरसफाई तथा विद्युत जडानको काम भइरहेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौंडा शाखाका सूचना अधिकारी हिमालय भण्डारीले उद्योगभित्र अहिले प्रारम्भिक तयारीका कामलाई प्राथमिकता दिइएको जानकारी दिनुभएको हो । सूचना अधिकारी भण्डारीकाअनुसार उद्योग परिसरमा वर्षौंदेखि थुप्रिएको झारपात, फोहोर तथा अनावश्यक सामग्री हटाउने काम भइरहेको छ । साथै उद्योग सञ्चालनका लागि आवश्यक विद्युत प्रसारण तथा विद्युत जडानको काम पनि सँगसँगै अघि बढाइएको छ । उहाँकाअनुसार यी काम पूरा भएपछि उद्योगभित्र रहेका भवन, मेसिन तथा अन्य संरचनाको विस्तृत प्राविधिक मूल्याङ्कन गरिनेछ ।

भण्डारीले लामो समयदेखि उद्योग बन्द रहेकाले भवन, मेसिन तथा उपकरणको वास्तविक अवस्था अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । त्यसका लागि नेपाली सेनाको प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिनुभयो ।
उद्योग पुनः सञ्चालनका लागि चरणवद्ध रूपमा काम अघि बढाइएको छ । पहिलो चरणमा उद्योग परिसरलाई व्यवस्थित बनाउने, आवश्यक पूर्वाधार तयार गर्ने तथा विद्युत आपूर्तिको व्यवस्था मिलाउने काम भइरहेको छ । त्यसपछि मेसिन तथा उपकरणहरूको निरीक्षण, मर्मत तथा प्राविधिक परीक्षणलगायतका प्रक्रिया अघि बढाइनेछ ।

हेटौँडा कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको मुलुककै पुराना सरकारी उद्योगमध्ये एक हो । वि.सं.२०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले एक समय स्वदेशी कपडा उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको थियो । पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले १२०० भन्दाबढीलाई रोजगारी दिएको थियो । तर उद्योग २०५६ सालदेखि पूर्ण रूपमा बन्द छ । सरकारले बन्द अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः सञ्चालन गर्ने नीति अनुरूप हेटौंडा कपडा उद्योगमा पनि आवश्यक तयारी अघि बढाएको छ । सोही क्रममा उद्योग परिसरको सरसफाइ, विद्युत् जडान तथा अन्य आधारभूत पूर्वाधार व्यवस्थापनका काम भइरहेको सूचना अधिकारी भण्डारीले बताउनु भयो । –न्युज एजेन्सी नेपाल