काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ ।
कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिनुभयो । कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “ल्यान्डफिल साइट र त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रमका लागि कामपाले वार्षिक करिब रु एक अर्ब खर्च गरेको छ ।
पछिल्लो समय महानगरपालिकाले विभिन्न स्थानमा सहरबाट उत्पादित फोहरलाई स्रोतमै वर्गीकरणमात्र घटाएर ल्यान्डफिल साइट पुर्याउने कार्यलाई प्राथमिकता दिएको छ । फोहरको भारका आधारमा उपत्यकाका स्थानीय तहबाट वित्तीय साझेदारीको अपेक्षा गरिएको जनाउँदै महानगरपालिकाले यसबाट स्थानीय तहलाई आफूले उत्पादन गरेको फोहर व्यवस्थापनमा अपनत्वबोध गराउने स्पष्ट पारेको छ । महानगरपालिकाले फोहरको भारका आधारमा वित्तीय साझेदारीको अवधारण अघि सारेको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रमा तुलनात्मक रूपमा धेरै फोहर उत्पादन हुने भएकाले करिब ५० प्रतिशत वितीय जिम्मेवारीको हिस्सा लिन आफूहरू तयार रहेको कार्यवाहक प्रमुखले स्पष्ट पार्नुभएको छ । साइटको आयु बढाउन फोहर वर्गीकरण, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग विधिको प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो ।
हाल काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका स्थानीय तहमा उत्पादन भएको फोहर व्यवस्थापन बञ्चरेडाँडामा भइरहेको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरासहितका पदाधिकारी र वातावरण व्यवस्थापन विभागका अधिकारीसँग बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन के–कस्तो उपाय र प्रविधि प्रयोग गरी फोहर व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे छलफल भएको महानगरपालिकाले जनाएको छ ।










