काठमाडौं। ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीमाथि सार्वजनिक सडकमा अश्लील व्यवहार गरेको आरोप लागेका एक पुरुषको खोजी प्रहरीले थालेको छ। घटनापछि पीडित युवतीले आफैंले खिचेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यो विषय व्यापक रूपमा चर्चामा आएको हो।
आइतबार साँझ करिब साढे ६ बजे टिकटकमार्फत सार्वजनिक गरिएको उक्त भिडिओ केही घण्टामै तीव्र रूपमा फैलिएको छ।
सामाजिक सञ्जालमा पीडित युवतीले साझा गरेको विवरणअनुसार उनी इमाडोलको एक गल्ली हुँदै एक्लै हिँडिरहेकी थिइन्। त्यसक्रममा करिब ४० वर्षजति उमेर देखिने एक अपरिचित पुरुषले उनीतर्फ लक्षित गर्दै आफ्नो गोप्य अङ्ग प्रदर्शन गरी अश्लील हर्कत गरेका थिए।
अचानक यस्तो अवस्था सिर्जना भएपछि धेरैजसो मानिस डराएर त्यहाँबाट टाढिने अवस्था हुने भए पनि ती युवतीले भने संयमता अपनाउँदै आफ्नो मोबाइल फोनबाट घटनाको भिडिओ रेकर्ड गर्न सुरु गरिन्। उनले आरोपीको पछि लाग्दै उसको अनुहार स्पष्ट देखिने गरी दृश्य कैद गरेकी थिइन्।
भिडिओमा युवती भावुक अवस्थामा सहयोगका लागि वरपर रहेका मानिसलाई गुहार मागिरहेको सुनिन्छ। आफ्नो सुरक्षाका लागि उनले आरोपीलाई रोक्ने प्रयास गर्नुका साथै एक थप्पड समेत हानेकी देखिन्छिन्।
पीडितले घटनाको भिडिओ सार्वजनिक गरेपछि प्रहरीसम्म सूचना पुगेको र भिडिओमा देखिएका व्यक्तिको पहिचान गरी पक्राउ गर्न खोजी कार्य तीव्र बनाइएको जनाइएको छ।
घटनाले सार्वजनिक स्थानमा महिलामाथि हुने यौनजन्य दुर्व्यवहारका घटनाप्रति पुनः गम्भीर ध्यानाकर्षण गराएको छ। साथै, यस्ता घटनामा पीडितले सुरक्षित रूपमा प्रमाण संकलन गरेर कानुनी प्रक्रियामा सहयोग पुर्याउन सक्ने सम्भावनालाई पनि यस घटनाले उजागर गरेको छ।











