१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्रीले मदिरा पिएको तस्बिर सार्वजनिक भएपछि हङ्गामा



अ+ अ-

लण्डन । बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको तस्बिर सार्वजनिक भएपछि देशमा हङ्गामा मच्चिएको छ । तस्बिरमा प्रधानमन्त्री बोरिस आफ्नो सरकारी निवासको बगैँचामा अरु मानिससँग बसेर रक्सी पिइरहेका छन् । सो तस्बिर गत वर्ष मे महिनाको भएको बताइएको छ । बोरिस जोनसनलाई कोरोना लकडाउन नियम धेरै कडा उल्लङ्घन गरेको आरोप लगाइएको छ। यो विवाद बाहिर आएपछि बोरिसका सहयोगीले मदिरा सेवन गरेको कुरा अस्वीकार गरेका छन् ।

बेलायतमा कोरोना लकडाउनका क्रममा निकै कडा नियम बनाइएको थियो र एक अर्कासँग भेटघाटमा धेरै प्रतिबन्ध लगाइएको थियो । यस्तो अवस्थामा बेलायती प्रधानमन्त्रीले अन्य व्यक्तिसँग मदिरा सेवन गरेको दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । यो तस्बिरपछि एकातिर जनताको आक्रोश बढ्दै गएको छ भने अर्कोतिर बोरिस जोनसनको कन्जरभेटिभ पार्टीमाथिको पकडलाई लिएर पनि प्रश्न उठिरहेको छ ।

बोरिसको टेबलमा मदिरा 

बोरिसको पार्टीका मन्त्रीहरु कोरोना नियन्त्रणका लागि विभिन्न प्रतिबन्ध लगाउने सोचमा छन् । गत हप्ता मात्रै मध्यावधि निर्वाचनमा पार्टीले लामो समयदेखि लिएको सिट गुमाएको थियो । बेलायती पत्रिका गार्डियनले आइतबार सो तस्विर प्रकाशित गरेको हो । तस्बिरमा बोरिस आफ्नो पार्टनर क्यारी र अन्य दुई व्यक्तिसँग आफ्नो सरकारी निवासको टेरेसमा बसिरहेका छन्। उनको टेबलमा मदिरा र केही चिज राखिएको छ ।

बोरिस नजिकैको अर्को टेबलमा चार जना बसिरहेका छन् र उनीभन्दा अलि टाढा ठूलो सङ्ख्यामा मानिसहरु बसिरहेका छन् । यो तस्बिर सार्वजनिक स्थलमा एक जनालाई मात्रै भेट्न सरकारले निर्देशन दिएको बेलाको भएको बताइएको छ । विवाद चर्किएपछि बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले प्रधानमन्त्री निवासले सो बगैँचालाई कार्यस्थलका रूपमा प्रयोग गरेको बताए । उनका अनुसार यो नियमविपरीत होइन ।