१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा



अ+ अ-

काठमाडाैँ । महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–८ मा स्थापना गरिएको बाल उद्यान तथा शिशु स्याहार केन्द्र शुक्रबार सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ।

हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले बालबालिकाको सुरक्षित र गुणस्तरीय हेरचाहको व्यवस्था भएपछि महिलाहरू उद्योग, व्यापार, सेवा, स्वरोजगार तथा अन्य आयमूलक क्षेत्रमा निर्धक्क रूपमा सहभागी हुन सक्ने बताउनुभयो। उहाँले उक्त केन्द्र महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीमा सहभागिता बढाउने महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँका अनुसार यो केन्द्र केवल भौतिक संरचना मात्र नभई महिलाको आर्थिक स्वतन्त्रताको ढोका हो। सुरक्षित वातावरणमा बालबालिकाको हेरचाह हुने व्यवस्था भएपछि महिलाले उद्यमशीलता, स्वरोजगार तथा रोजगारीमा सक्रिय हुन सहज हुने उहाँको भनाइ थियो।

उपाध्यक्ष पाण्डेले नेपालमा महिलासँग पर्याप्त सीप, क्षमता र काम गर्ने इच्छा हुँदाहुँदै पनि बालबालिका, ज्येष्ठ नागरिक तथा घरायसी जिम्मेवारीका कारण उनीहरूको आर्थिक सहभागिता सीमित रहेको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अध्ययनले अवैतनिक हेरचाह कार्यको असमान भार महिलाको आर्थिक सहभागिताको प्रमुख अवरोधका रूपमा देखाएको उहाँले बताउनुभयो।

महिलाको श्रम सहभागिता वृद्धि सामाजिक न्यायको विषय मात्र नभई दिगो आर्थिक विकासको आधार भएको उल्लेख गर्दै उहाँले महिलाको सहभागिता बढ्दा उत्पादनशीलता, पारिवारिक आय तथा बालबालिकाको शिक्षा र समग्र सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको बताउनुभयो। साथै स्थानीय सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्य सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई थप विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजी क्षेत्र सधैं सरकारसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताउँदै स्थानीय सरकारसँगको साझेदारीमा महिला तथा बालबालिकामैत्री कार्यक्रम सञ्चालन हुनु सकारात्मक कदम भएको बताउनुभयो।

जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले बालबालिकाका लागि शिशु स्याहार केन्द्रको आवश्यकता औंल्याउँदै यस्ता केन्द्रले कामकाजी परिवारलाई ठूलो राहत पुग्ने धारणा राख्नुभयो।

आईएलओ मधेश प्रदेशका संयोजक महेन्द्र सहनीले श्रम बजारमा महिलाको सहभागिता अपेक्षाकृत कम रहेको र करिब ४० प्रतिशत महिलाले पारिवारिक तथा सामाजिक जिम्मेवारीका कारण रोजगारीमा सहभागी हुन नसकेको अध्ययनले देखाएकाले स्थानीय सरकार र निजी क्षेत्रसँग सहकार्य गरी यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलका अनुसार वीरगञ्ज नेपालको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र भएकाले यहाँ व्यापारिक गतिविधि, घना बस्ती तथा कार्यरत महिलाको उल्लेखनीय उपस्थितिलाई आधार बनाएर महानगरपालिका–८ लाई केन्द्र सञ्चालनका लागि छनोट गरिएको हो।

यस केन्द्रबाट औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिला, दैनिक ज्यालादारी गर्ने महिला, साना व्यवसायी, स्वरोजगार महिला तथा रोजगारीको खोजीमा रहेका महिलाहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। उनीहरूका बालबालिकाले सुरक्षित, स्वस्थ, सिकाइमैत्री तथा स्नेहपूर्ण वातावरणमा गुणस्तरीय हेरचाह सेवा प्राप्त गर्ने विश्वास समेत व्यक्त गरिएको छ।

उक्त बाल उद्यान तथा शिशु स्याहार केन्द्र आईएलओ नेपाल, ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना, नेपाल उद्योग वाणिज्य महासंघ, वीरगञ्ज महानगरपालिका, वडा नं. ८, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा स्थापना गरिएको हो।