१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन



अ+ अ-

काठमाडौं  । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शान्ति बाटिकामा रहेको संरचना हटाउन निर्देशन दिनुभएको छ ।

काठमाडौं महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकमा उहाँले नगरप्रहरीलाई उक्त निर्देशन दिनुभएको हो । शान्ति बाटिकामा रहेको संरचना हटाउन कुनै कानूनी समस्या नरहेको उहाँको भनाई छ । शान्तिबाटिकमा गणेशमान सिंहको शालिक, नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरु हटाएर वडाअध्यक्ष र महानगरमा जानकारी दिन निर्देशन दिनुभयो ।

उहाँले महानगरभित्रका कर्मचारी सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । उहाँले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारी सम्मानमा ढिलाई नगर्न निर्देशन दिएको हो । उहाँले फोहोर व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो ।

उहाँले कोर एरिया र कोर क्षेत्रबाहिरको फोहोर व्यवस्थापनको अवस्था तथा विगतको प्रक्रियाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने बताउनु भयो । उहाँले जनप्रतिनिधिको सुविधा सम्बन्धी विषयमा नगरसभाले निर्णय गरिसकेको र प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानूनी प्रक्रिया पूरा गरिएको जानकारी दिनुभयो ।

उहाँले अव्यवस्थित बसोबास र सुकुम्बासी व्यवस्थापन गर्न भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल गरेको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार समस्या समाधानको लागी अब छिट्टै महानगरमै अर्को बैठक आयोजना गर्नेछ । बैठकमा भूमि समस्या समाधान समिति र प्रभावित वडाका अध्यक्ष सहभागी हुने उहाँले जानकारी दिनुभयो । बैठकमा वडागत समस्या प्रश्तुत गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासको दिगो समाधान खोज्ने गरी विस्तृत छलफल गरिने उहाँको भनाई छ ।