७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा हुन्छ मिर्गौला बिक्री



अ+ अ-

काठमाडौं । मानव शरीरको महत्वपूर्ण अंग मिर्गौला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गौला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ । यसको सञ्जाल गाउँदेखि काठमाडौं र काठमाडौंदेखि भारतका सहरमा हुने गरेको छ ।

स्रोतका अनुसार काँकडभिट्टा–पानीटंकी, वीरगन्ज–रक्सौल, भैरहवा–सुनौली ओसारपसारका साझा बिन्दु हुन् । मुख्यतः घरपरिवारको खर्च जोहो गर्नका लागि न्यून आए भएकाहरू मिर्गौला दिन तयार हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ५ देखि १० प्रतिशतसम्म सबै खालको मिर्गौला प्रत्यारोपणका घटनामा प्रापकले अंग खरिदका लागि अन्य देशको भ्रमण गर्ने गर्छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनअनुसार गरिब परिवार नै मानव अंग बेचबिखनबाट पीडित हुने गरेका छन् ।बिचौलियाहरूले मिर्गौला प्रत्यारोपण गर्न चाहनेहरूलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने आश्वासन दिने गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाउँछ । तर, प्रत्यारोपण गरिसकेपछि पीडितले २० हजारदेखि ३० हजार रुपैयाँसम्म पाउने गरेको प्रतिवेदनले देखाउँछ । मिर्गौला बिक्री गर्नेहरूको जालो बढ्दै गए पनि तथ्यांक एकीकृत हुन सकेको छैन ।

गोरखा स्थायी घर भई चितवन भरतपुर बस्दै आएका २९ वर्षीय रविन बस्नेत ९नाम परिवर्तन०को आर्थिक अवस्था कमजोर थियो । एक व्यक्तिले मासिक १० हजार रुपैयाँ तलब उपलब्ध गराउँछु भन्दै २०७३ साउनमा काठमाडौं ल्याए । उनलाई औषधि खुवाएर बेहोस पारियो । बेहोस पारी काठमाडौंबाट भारतको एक अस्पतालमा पुर्याई दायाँ भागको मिर्गौला निकाली दलालले बिक्री गरे । पछि होसमा आएका रवीनलाई गुन्डाले छुरी हानेकाले उपचारका लागि अस्पताल ल्याइएको बताए ।

अन्ततः सोसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा प¥यो । अदालतले २०७५ चैतमा गरेको फैसलामा ‘दोषी ठहर भएकाले ११ वर्ष कैद, २ लाख २५ हजार रुपैयाँ जरिमाना र पीडितलाई २ लाख क्षतिपूर्ति दिलाउनू’ भनिएको छ । अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप ९ओएससीई० नामक संस्थाले तयार पारेको प्रतिवेदनले मानवअंग बेचबिखनका पीडित गरिब भएका तथा निजहरूलाई अंग प्राप्त गर्ने व्यक्तिले तिरेको रकमको नगन्य अंश मात्र पाउने गरी आफ्ना अंग बिक्रीका लागि दलालबाट धम्क्याइने एवं बल प्रयोग हुने गरेको पाइएको छ ।

मिर्गौला रोग विशेषज्ञ डा। सुमित आचार्यले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ अक्षरशः पालना गरिनुपर्ने बताए । उनले भने, ‘डाक्टरहरूको काम त उपचार प्रक्रियामा तल्लीन हो । कागजको प्रमाणीकरण गर्ने काम कमिटीको हुन्छ । त्यसैले कमिटी सशक्त हुनुपर्छ ।’ ऐनमा अंग प्रत्यारोपण समन्वय समिति रहने व्यवस्था छ । मिर्गौला रोग विशेषज्ञ डा.आचार्यले ट्रान्सप्लान्टमा संलग्न चिकित्सकले नातागोतामा चासो नदिने भन्दै समितिले कागजको प्रभावकारी तरिकाले भेरिफिकेसन गर्न जरुरी रहेको बताए ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले मिर्गौला दिने र लिने दुवै पक्षले प्रक्रिया छल्ने गरेको बताए । उनले भने, ‘कसैले ललाइफकाई गरेर मिर्गौला बिक्री गरेको पाइए कानुनी कारबाही प्रक्रिया अघि बढाउँछौं । मिर्गौला बेचबिखनजस्तो क्रियाकलापको सूक्ष्म तवरले सूचना संकलन गरिरहेका छौं ।’

निदान अस्पतालमा के भएको हो ? केही समयअघि रामेछापको दोरम्बा घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने शंकरलाल लामाको मिर्गौला फेल भयो । मिर्गौला प्रत्यारोपण गर्न अर्का एक व्यक्ति आवश्यक भयो । मिर्गौला फेल भएका लामा पुल्चोकस्थित निदान अस्पताल भर्ना भए । उनलाई मिर्गौला दिन भनेर सहोदर भान्जा तयार भएको नाटक गरियो । मामाभान्जाको नाता पनि प्रमाणित गरियो । तर, मिर्गौला दिनेबेला खडा भएका नक्कली भान्जा काभ्रेका ३६ वर्षीय पुष्कर (नाम परिवर्तन)लाई मिर्गौला तस्करीका एक दलालले भान्जा बनाएर शंकरलालसम्म पुर्याएका थिए ।

मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहितको एक कमिटी हुने व्यवस्था छ । कमिटीले आवश्यक जाँचबुझ, काजगात हेरिसकेपछि मिर्गौला दिन मिल्ने भएपछि मात्रै मिर्गौला प्रत्यारोपणको प्रक्रिया सुरु हुने गर्छ । नेपालमा मिर्गौला प्रत्यारोण गर्न हाडनाताबाहेक अन्य नाताको मान्छेले दिन मिल्दैन । तर, मिर्गौला तस्करले फोटोसप प्रयोग गरेर बनाएको फोटोको राम्रोसँग जाँचबुझ नगरी मिर्गौला प्रत्यारोपणका लागि तस्करको योजनालाई साथ दिएपछि मिर्गौला तस्करी भएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले बुधबार अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका तत्कालीन शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरिक्षक गोविन्द थपलियाका अनुसार उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको छ । उनले भने, दोषी ठहर भएमा १० वर्षसम्म कैद र ५ लाख जरिमाना तिर्नुपर्छ । मानव बेचबिखन तथा ओसारपसार ऐनका आधारमा अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ । ’

अस्पतालले कागजात सामान्य रूपमा समेत जाँच नगरी मिलेमतोमा मिर्गौला तस्करी गएको देखिएको प्रहरीको आरोप छ । मिर्गौला तस्करीका दलालसहित केही व्यक्ति भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

ऐनमा के छ ? मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले प्रत्यारोपणका लागि किनबेच गर्ने कार्यलाई निषेध गरेको छ । ऐनमा अनुमतिपत्र नलिई अंग प्रत्यारोपणसम्बन्धी क्रियाकलाप सञ्चालन गर्न नहुने उल्लेख छ । ऐनविपरीत कसैले कसैको अंग झिकेमा वा त्यसरी झिकिएको अंग कसैलाई प्रत्यारोपण गरेमा वा अन्य काममा प्रयोग गरेमा वा त्यस्तो कार्यमा प्रत्यक्ष रूपमा संलग्न भएमा यस ऐनबमोजिम अपराध गरेको मानिनेछ ।

व्यक्तिगत इजाजतपत्र नलिएको व्यक्तिले स्वास्थ्य संस्थाबाहेक अन्य स्थानमा दफा २३ बमोजिमको अपराध गरेको भए त्यस्तो व्यक्तिलाई उपदफा (१) बमोजिम हुने सजायमा थप दुई वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिमाना हुनेछ । राजधानी दैनिकबाट