काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने भएको छ।
निर्वाचन आयोगले हालसम्म विद्युतीय मतदानका लागि उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्न नसक्दा मतदान कार्यतालिका प्रभावित बनेको हो।
निर्वाचन आयोगका प्रमुख भुवन केसीले यसअघि बिहान ९ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको बताएका थिए। तर, उम्मेदवारको प्रारम्भिक सूची नै सार्वजनिक हुन नसक्दा निर्धारित समयमा मतदान सम्भव नहुने देखिएको छ।
निर्वाचन आयोगले बिहान साढे १० बजेसम्म प्रारम्भिक नामावली सार्वजनिक गर्ने जनाएको थियो।
अन्तिम उम्मेदवार सूची प्रकाशन भएपछि उम्मेदवारहरूको फोटोसहितको विवरण विद्युतीय मतदान मेसिनमा अपलोड गर्नुपर्ने हुन्छ।
निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्य पदका लागि करिब ४ सय जनाले मनोनयन दर्ता गराएका छन्। यद्यपि उम्मेदवारको यकिन संख्या भने आयोगले अझै सार्वजनिक गरेको छैन।
राम लक्ष्मण ई–भोटिङ मेसिनका संस्थापक राम रिमालका अनुसार उम्मेदवारको अन्तिम सूची प्राप्त भएपछि मेसिनमा आवश्यक विवरण अपलोड गर्न मात्रै ४ देखि ५ घण्टा लाग्नेछ। उनका अनुसार एक प्रतिनिधिले मतदान प्रक्रिया पूरा गर्न औसत १५ देखि १८ मिनेट समय खर्चिनुपर्नेछ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनमै ढिलाइ भइरहेका कारण महाधिवेशनको निर्वाचन प्रक्रिया अझै लम्बिने निश्चितजस्तै देखिएको छ।
मंगलबार सम्पन्न गर्ने लक्ष्य राखिएको महाधिवेशन यसअघि नै एक दिन थपिएको थियो।महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि मतदान हुनेछ भने त्यसपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान गरिनेछ। निर्वाचन कार्यतालिकामा भएको ढिलाइले महाधिवेशनको अवधि थप लम्बिन सक्ने अनुमान गरिएको छ।











