काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई महाधिवेशनमा मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ।
पार्टीका अनुसार विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि चयन भएका सदस्यहरूलाई अनलाइन माध्यमबाट मतदान गर्न मिल्ने व्यवस्था गरिएको हो। विदेशबाट कुल १६३ जना प्रतिनिधि रहेका छन्। तीमध्ये महाधिवेशनमा प्रत्यक्ष उपस्थित हुन नसक्ने प्रतिनिधिहरूले मोबाइल एप प्रयोग गरी आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्।
यस्तै, महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिहरूका लागि विद्युतीय मतदान प्रणाली अपनाइने भएको छ। मतदान प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउन ८० वटा इलेक्ट्रोनिक मतदान मेसिनको व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
पार्टीले प्रविधिको प्रयोगमार्फत स्वदेश तथा विदेशमा रहेका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यो व्यवस्था लागू गरेको बताएको छ।











