काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उहाँले सरकारलाई उक्त सुझाव दिनुभएको हो । अध्यक्ष राईले विकासमा नाममा वैदेशिक ऋण बढाउने होड चलिरहेको उल्लेख गर्दै आम नेपालीहरु वैदेशिक ऋणको भारले थिचिएर बस्नुपर्ने अवस्था आएकाले यसबाट उन्मुक्ति हुने गरी सरकारले काम गर्नुपर्ने तर्क समेत गर्नु भयो ।
उहाँले श्रम गर्नु नै शिक्षा हो भन्ने मानक स्थापित गरेर मात्रै उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भरतातर्फको बाटोमा अघि बढाउन सकिने पनि बताउनु भयो । सरकारले आगामी वर्षहरुमा आत्मनिर्भरतातर्फको अर्थनीति तय गरेर अघि बढनुपर्ने अध्यक्ष राईको भनाई थियो ।
उहाँले भन्नुभयो,‘विकास कसैले बढी ल्याउने भन्ने दौडमा प्रत्येक साल हाम्रो विदेशी ऋण बढिरहेको छ । अनुरोध गर्न चाहन्छु बरु योजनाका संख्याहरु घटाऔ हामीले । हुँदोनहुँदो योजना ल्याएर पछि ऋणको भारीमा किचिएर, थिचिएर बस्नु भन्दा अव हामी आत्मनिर्भर बन्नु पर्छ भन्ने भन्नेतर्फ हाम्रो अर्थनीति अगाडि जानु पर्दछ भन्ने म सुझाव दिन चाहन्छु । मैले धेरै चोटी यहाँ उभिएर पनि भनेको छु–जबसम्म हामीले शिक्षामा नै श्रम ल्याउँदैनौँ । केटाकेटीलाई हामी स्कुलमा नै काम गर्न सिकाउँदैनौ । काम गर्नु नै शिक्षा हो भन्ने कुराको मानक स्थापित गर्दैनौ, तवसम्म देशमा उत्पादन हुँदैन । देशमा उत्पादन नहुने भनेको औद्योगिकरणमा नजानु हो ।’
अध्यक्ष राईले भोकानांगालाई आफैले उत्पादन गरेर उपयोग गर्नुपर्छ भन्ने मान्यताका आधारमा अघि बढाउने काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।











