काठमाडौं । प्राविधिक जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले हालको संरचनामा परिषद्का कार्यक्रम सञ्चालन गर्न नसक्ने देखिएको छ ।
परिषद्को वर्तमान संरचना र जनशक्तिबाट हाल सञ्चालन भएका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न कठिनाइ भएको प्रतिवेदन फेला परेकाे खबर राजधानी दैनिकमा छापिएकाे छ । सीटीईभीटीको सम्बन्धमा डा. रुद्र सुवालको प्रतिवेदनले परिषद्का कार्यक्रम विस्तार गर्न विद्यमान संगठन संरचना, जनशक्ति र साधन स्रोतको अभाव हुने निष्कर्ष निकालेको छ ।
परिषद्मा स्थायी कर्मचारीभन्दा करार र अस्थायी कर्मचारी बढी छन् । अहिले परिषद् मातहत २ हजार ३० कर्मचारी छन् । जसमध्ये ९३२ जनाको स्थायी दरबन्दी छ । अन्य सबै करार र अस्थायी छन् ।शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्दा राज्यको महत्वपूर्ण एवं प्राथमिकताका विषयमा केन्द्रित भई सञ्चालन नभएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
श्रम बजारको मागअनुसार प्राविधिक शिक्षा अघि बढ्न नसकेको पाइएको छ । श्रमबजारको मागअनुसार जनशक्ति आपूर्तिका लागि विद्यार्थी भर्ना गर्ने परम्पराको अभ्यास नभएको प्रतिवेदनमा उल्लेख छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विषयकोे छनोट गर्दा नाफा हुने विषयलाई ध्यान दिएको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका कार्यक्रम स्थानीय मागका आधारमा सञ्चालन गरिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।
लामो समयदेखि सञ्चालनमा रहेका शिक्षण संस्थामा पूर्वाधार जीर्ण बन्दै गएको र प्रशिक्षार्थीको अनुपातमा प्रयोगात्मक शिक्षणका लगि समेत स्रोत र साधनको कमी देखिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई व्यवस्थापन गर्न अध्यावधिक तथ्यांक तथा सूचनासमेत नभएको देखिएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा काम गरिरहेका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका प्रशिक्षकको संख्या २४ हजार ८४५ रहेको अनुमान गरिएकोमा सो संख्या बढी २०८४-८५ मा ४६ हजार ७५६ पुग्ने प्रक्षेपित अनुमान गरिएको छ ।
परिषद्बाट हालसम्म २ लाख ५६ हजार ८१४ जना जनशक्ति उत्पादन भएका छन् । जसअन्तर्गत प्राविधिक एसईईतर्फ १ लाख ९७ हजार ७२८ र डिप्लोमा तहतर्फ ५९ हजार ८६ जना जनशक्ति उत्पादन भएका छन् । हाल परिषद्अन्तर्गत ४५ वटा आंगिक शिक्षालय र ३९७ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, ६ वटा साझेदारीमा सञ्चालित शिक्षालय र ४२९ वटा निजी शिक्षालय छन् । परिषद्का अनुसार आर्थिक वर्ष २०७५-७६ मा विद्यार्थी भर्ना क्षमता ६२ हजार १५ जना थियो । परिषद््ले तीन वर्षे डिप्लोमा तथा प्रवीणता प्रमाणपत्र तह र १८ महिने प्राविधिक एसईई गरी दुई किसिमका लामो अवधिका कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालू आर्थिक वर्षका लागि परिषद्अन्तर्गत ६ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।