काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले सरकारले रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीरता देखाउनुपर्ने बताएका छन् ।

शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यले लगानीमैत्री वातावरण निर्माण गर्दै निजी क्षेत्रलाई फस्टाउन सहयोग गर्नुपर्ने बताएका हुन् ।
उनले राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र व्यवसाय तथा उद्योगलाई विकासका लागि अनुकूल वातावरण उपलब्ध गराउनु रहेको उल्लेख गरे । उद्योग–व्यवसायमा प्रतिकूल असर पर्ने नीतिहरू ल्याउन नहुने भन्दै उनले रोजगारी अभावकै कारण युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको बताए ।
नेपालले आयातमुखी अर्थतन्त्रलाई उत्पादन तथा निर्यातमुखी बनाउने स्पष्ट रणनीति सरकारले अघि सार्न नसकेको आरोप लगाए । स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत आर्थिक सुदृढीकरण सम्भव भए पनि सरकारले त्यसतर्फ पर्याप्त ध्यान दिन नसकेको उनको भनाइ थियो ।
उनले राज्यले रोजगारी प्रवर्द्धन गर्ने सम्भावनायुक्त क्षेत्रहरूको पहिचान गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । “नेपालले जति धेरै आयात रोक्न सक्यो र स्वदेशमै उत्पादन बढाउन सक्यो, त्यति नै निर्यातमुखी अर्थतन्त्र निर्माण गर्न सकिन्छ,” उनले भने ।
सह–संयोजक नेपालले देशका औषधि उद्योग संकटमा परेको भन्दै करिब १५० भन्दा बढी औषधि उद्योग बन्द हुने अवस्थाको चेतावनी दिए । यस विषयमा संसद, राजनीतिक दल र सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो ।
सरकारले निजी क्षेत्रका गुनासा सुन्ने, नियमित संवाद गर्ने तथा नीतिगत सुधारमार्फत उद्योग व्यवसायलाई संरक्षण गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
नेपालले कृषि, जलविद्युत् र खनिज स्रोतको विकास आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उत्पादन, रोजगारी र आम्दानी बढे उपभोग र व्यापार स्वतः विस्तार हुने बताए । उनले सिमेन्ट उद्योगलगायत उत्पादनमूलक क्षेत्र संकटमा परेको उल्लेख गर्दै प्राकृतिक स्रोत–साधनको उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले सुनचाँदीलगायतका वस्तुमा हुने अवैध कारोबार नियन्त्रण गर्न पनि सरकारलाई आग्रह गरे । वैध व्यापार र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो ।
न्यूजपोलार
२३ जेष्ठ २०८३, शनिबार १५:३७
न्यूजपोलार
२३ जेष्ठ २०८३, शनिबार १५:३७
२३ जेष्ठ २०८३, शनिबार १५:३७










